अन्तर्राष्ट्रिय

खानी दुर्घटनामा पाँच जना मृत्यु, दर्जनौं पुरिए

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सुनखानी दुर्घटना हुँदा कम्तीमा पाँच जना खानी मजदुरको मृत्यु हुनुका साथै अरु दर्जनौं खानीभित्रै पुरिएको प्रहरीले जनाएको छ ।

उद्धारकर्ताहरुले खानीबाट पाँच जनाको शव निकालेका छन् । बोगोर जिल्लाको बान्तर गाउँको पोङकोर पहाडी भेगको सुनखानीमा उक्त दुर्घटना भएको हो । खानीमा फसेका अरु व्यक्तिको खोजी भइरहेको पनि बताइएको छ । खानी दुर्घटनामा बाँचेकाहरुले भने खानीभित्र अरु १५ जना पुरिएको बताएका छन् ।

निरन्तरको वर्षाका कारण खानी दुर्घटना भएको हुनसक्ने राष्ट्रिय प्रकोप नियन्त्रण संस्थाका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताए। कठिन भौगोलिक अवस्था र निरन्तरको वर्षाका कारण उद्धारमा कठिनाई रहेको पनि उनले बताए। इन्डोनेसियामा पुराना सुनखानी धेरै रहेका र तिनीहरु परम्परागत रुपमै सञ्चालनमा रहेका छन् । खासगरी पहाडी दुर्गम इलाकाहरुमा यी सुनखानी छरिएर रहेका छन् ।