अन्तर्राष्ट्रिय

बम बिस्फोट, ४ प्रहरी मारिए

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा जिल्लामा सोमबार साँझ भएको बम बिस्फोटमा कम्तीमा चार जना प्रहरी मारिएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटमा अरु १२ जना घाइते भएका छनत् । सिभिल अस्पताल क्वेटाका प्रवक्ता वसिम बाइजले चार जना प्रहरीको मृत्यु भएको र घाइतेमध्ये एकको अवस्था निकै गम्भीर रहेको जानकारी दिए।

प्रान्तका प्रहरी प्रमुख मोहसिन हसन बटले मस्जिद बाहिर सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी बम बिस्फोट गराइएको बताए। मस्जिदमा साँझको समय स्थानीयहरु नमाज पढ्न लागेकै समय बिस्फोट भएको थियो ।

उनले मस्जिद बाहिर पार्किङ गरिएको मोटरसाइकलमा बम राखेर दूर नियन्त्रित साधन ‘रिमोट कन्ट्रोल’ बाट बिस्फोट गराएको देखिएको बताए। निकै शक्तिशाली देखिएको उक्त बिस्फोटबाट चारवटा सवारी साधनका साथै नजिकका दर्जनौं पसलमा क्षति पुगेको छ ।

प्रहरीले बिस्फोट नभएको अर्को एउटा बम पनि फेला पारेको थियो । उक्त बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन । प्रधानमन्त्री इमरान खानले आक्रमणको निन्दा एवं भत्र्सना गरेका छन् ।