राजनीति

सीताको भूमिकालाई बढी प्रचार गर्नुपर्छ: अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने परिपथ बनाउन आवश्यक रहेको बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान र मिथिला प्रतिष्ठानको संयुक्त आयोजनामा सोमबार यहाँ भएको ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उनले ती धार्मिकस्थललाई जोडेर परिपथ बनाएमा मुलुकको धार्मिक पर्यटन विकास गर्न सकिने बताए।

उनले हिन्दू र बौद्ध धर्मलाई जोड्ने परिपथ बनाउन सके विश्वको ध्यान केन्द्रित गर्न सकिने समेत धारणा राखे । जनकपुर, पशुपतिनाथ र लुम्बिनीलाई ज्ञान विज्ञानका रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । “भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि चीन फिङसँग कुरा हुँदा एशियाको आर्थिक, राजनीतिक र सांस्कृतिक समीक्षा गर्दै भविष्य कसरी लैजाने भन्नेमा मेरो बहस भएको थियो”, उनले भने,‘‘ दुवै नेताले ‘नेपाल देश सानो छैन, नेपालको इतिहासको गौरव पनि कम छैन, अहिले पनि नेपालले खेल्ने भूमिका ठूलो भएको बताएका थिए। ” अध्यक्ष दाहालले पूर्व पाथीभरादेखि बडिमालिकासम्म रहेका सबैका शक्तिपीठलाई जोड्ने एउटा शक्तिपीठ परिपथ बनाउन आवश्यक रहेको पनि बताए।

नेपाल–भारतका शक्तिपीठ जोड्ने परिपथ

उनले नेपाल र भारतका शक्तिपीठलाई जोड्ने परिपथ पनि बनाउनुपर्ने बताए। नेपाल र भारतका शक्तिपीठ मिलाएर शक्तिपीठ परिपथ बनाउने हो भने पर्यटन विकासमा क्रान्ति ल्याउन सकिने उनको भनाइ थियो । अध्यक्ष दाहालले नेपाल र भारतका केही विद्वान्लाई राखेर यसको सम्भाव्यता अध्ययन गर्न लगाउनुपर्ने सुझाव पनि दिए।

मिथिला सभ्यताको विकास गर्नुपर्ने

उनले मिथिला सभ्यतालाई ज्ञान तथा आर्थिक सामाजिक र विकासको केन्द्रका रुपमा लैजानुपर्ने समेत धारणा राखे। मिथिला र मिथिला सभ्यता आफैँमा नेपालको मात्र नभई विश्वका मानव जातिको संस्कृतिको केन्द्रविन्दु रहेको उल्लेख गरे।

जनकपुरमा भारतका प्रधानमन्त्री मोदीको भ्रमण, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र दुवै प्रधानमन्त्रीद्वारा रामायण परिपथको उद्घाटन, अयोध्यामा चल्ने बसको उद्घाटनजस्ता कार्य मिथिला सभ्यतालाई नै बुझेर गरिएको उनले बताए।

पौराणिक तथा ऐतिहासिककालमा रहेका सबै गौरवलाई अन्वेषण गर्ने र त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्दै इतिहासका गौरवलाई जनता र वर्तमान समाजको सेवामा सदुपयोग गर्नुपर्ने उनले बताए । अध्यक्ष दाहालले आफू जनताको धार्मिक आस्थालाई सम्मान गर्ने, सबै धर्म सम्प्रदायमा राज्यले समान व्यवहार गर्नुपर्छ भन्ने कुराको पक्षपाती रहेको पनि बताए।

अध्यक्ष दाहालले आफू भौतिकवादी दर्शनको विद्यार्थी भए पनि मानव जीवनमा आध्यात्मिक चिन्तनको योग र ध्यानको भूमिका रहन्छ भन्ने पक्षमा रहेको उल्लेख गरे।

सीताजयन्ती मनाउन जोड

अध्यक्ष दाहालले सीतालाई आदर्श नारीका रुपमा चिनिएकाले रामजयन्तीजस्तै सीता जयन्तीलाई पनि भव्य रुपमा मनाउनुपर्नेमा जोड दिए। “रामको जन्मलाई जसरी मनाउँदा सीताको जन्मलाई भने कम गरी मनाउने परम्परा रहेको छ । त्यो पितृसत्तावादी सोचको कारणले भएको हो”, उनले भने, “रामभन्दा सीताको जन्म कत्ति पनि कम मान्नुहुदैँन । महिला हुनुको नाताले सीताको बढी चर्चा, सम्मान हुनुपर्छ । सीताको भूमिकालाई बढी प्रचार गर्नुपर्छ ।”

अध्यक्ष दाहालले चीन भ्रमणमा जाँदा ल्हासाबाट काठमाडौँ हुदैँ पोखरा लुम्बिनीसम्म रेल लैजाने कुरा र भृकुटीले खेलेको भूमिका स्थापित गराउने कुरा पूरा हुदैँ गइरहेको बताए। उनले ल्हासाबाट रेल चाँडै अब आइपुग्नेछ भन्दै त्यसले पर्यटन र विकासका निम्ति कोशेढुङ्गा सावित गराउने बताए । अध्यक्ष दाहालले नेपालको ऐतिहासिक गौरवलाई स्थापित गर्न देखेका सपना चाँडै पूरा गरिने समेत बताए।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री धनबहादुर बुढाले सीताको जन्मस्थल जनकपुरलाई ऐतिहासिक नगरीका रुपमा विकास गरिने जानकारी दिए। सांसद प्रभु साहले सीतालाई सम्मान गर्दा इतिहासप्रति न्याय, महिलाप्रतिको सम्मान र विभेदको अन्त्य हुने बताए। राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले नारीमा हुनुपर्ने आदर्श सीताभन्दा अर्को कोहीमा नभएको बताए।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशम्शेर राणाले जनकपुरलाई सबै हिन्दूको धार्मिकस्थलका रुपमा विकास गरिनुपर्ने बताए। स्वामी आनन्द अरुणले विश्वभरिका हिन्दूलाई जोड्ने मार्गका रुपमा जनकपुरलाई विकास गरिनुपर्ने बताए।

मिथिला प्रतिष्ठानका अध्यक्ष रामआधार कापरले जनकपुरमा मात्र सीमित नराखेर पहिलो पटक काठमाडौँमा सीताको जयन्ती मनाउन थालिएको जानकारी दिए। सो अवसरमा अरविन्द मिश्रले ‘मिथिला र जनकवंशः एक सङ्क्षिप्त इतिहास’ कार्यपत्र प्रस्तुत गरेका थिए।