समाचार

मुलुक समृद्धिको चाहना पूरा गर्न प्रतिस्पर्धासँगै लड्ने समय आएको छ: उपराष्ट्रपति पुन

गौर । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिका लागि विकासको प्रतिस्पर्धा गर्ने बेला आएको बताएका छन्। उनले विकास र समृद्धिका लागि नेपाली जनताको चाहना पूरा गर्नका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय आएको बताए।

अब प्रदेश–प्रदेश र स्थानीय तहबीचको प्रतिस्पर्धा विकास र समृद्धिका लागि गर्नुपर्ने उपराष्ट्रपति पुनले बताए। रौतहटको कटहरिया नगरपालिकामा सोमबार आयोजित जानकी महोत्सव कार्यक्रममा उनले स्थानीय तथा प्रदेश सरकारले सुशासनका लागि प्रतिस्पर्धा गर्न आग्रह गर्दै अनियमितता र भ्रष्टाचार समृद्धिको साझा शत्रु भएको बताए । विकासको बाधक अनियमितता र भ्रष्टाचार भएकाले तल्लोस्तरबाट खबरदारी गर्नुपर्ने जरुरी रहेको उनको भनाइ थियो ।

प्रदेश नं २ ले विकास र समृद्धिको यात्रामा अब्बल साबित गर्ने विश्वास लिएको उपराष्ट्रपति पुनले बताए। विकास र समृद्धिका लागि प्रचुर सम्भावना बोकेको प्रदेश भएकाले सक्षम बन्ने उनको बुझाइ छ । उपराष्ट्रपति पुनले देश स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अग्रसर रहेको उल्लेख गरे। विकास र समृद्धि नै प्राथमिकतामा रहेको बताउँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानलाई सार्थक तुल्याउन सबैको योगदान रहनुपर्ने बताए ।

हरेक जनताको आर्थिक, सामाजिक रुपान्तरण सहितको समुन्नत र समृद्ध राष्ट्र निर्माण आजको हाम्रो अभिभारा भएको उपराष्ट्रपति पुनले बताए । नेपाल विविधतायुक्त समुदाय, धर्म, भाषा संस्कृतिले धनी भएकाले कसैसँग तुलना गर्न नमिल्ने उनले बताए। त्रेतायुगमा जन्मेकी महान् नारी सीताको विचारलाई पुनः स्मरण र मनन गर्न जरुरी रहेको उपराष्ट्रपति पुनले बताए। सीताको विचारलाई जनमानससम्म पुर्‍याएर महिलामाथि हुने भेदभाव, हिंसा तथा उत्पीडनको अन्त्य वा न्यूनीकरणका लागि मद्दत पुर्‍याउने उनको धारणा थियो ।

सो अवसरमा पूर्वमन्त्री तथा सांसद प्रभु साहले सीता सहनशील नारी भएकाले उनीबाट सिक्नुपर्ने धारणा राखे । उनले हरेक समस्या र चुनौतीको सामना गर्ने एक सहनशील नारीका रुपमा सीता माता परिचित रहेको उल्लेख गरे। कार्यक्रममा नेकपाका नेता युवराज भट्टराईले नेपाली समाजमा मात्र नभई अन्तर्राष्ट्रियजगत्मा समेत सीताको आदर्शको महत्व रहेको बताए। कार्यक्रममा सामाजिक योगदान पुर्‍याएका महिला तथा राष्ट्रिय खेलाडीलाई उपराष्ट्रपति पुनले सम्मान गरेका थिए । उनले ‘तराई मधेश जनयुद्ध शहीद स्मृति प्रतिष्ठान भवन’को उद्घाटन गरेका थिए ।