प्रदेश 1

बारा/पर्सा हावाहुरी पीडितका लागि प्रदेश १ द्वारा रु एक करोडको चेक

धनुषा । प्रदेश नं १ को सरकारले आफूले पहिले नै घोषणा गरेको बारापर्साका हावाहुरी पीडितका लागि एक करोड सहयोगको चेक आज हस्तान्तरण गरिएको छ । प्रदेश नं १का मुख्यमन्त्री शेरधन राईले आज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश नं १का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपत्मा प्रदेश नं १ ले सानो सहयोग गरेर प्रदेश नं २ को विपत्मा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको बताए ।

प्रदेश नं २ का मुख्यमन्त्री राउतले प्रदेश नं १को सहयोगप्रति आभार व्यक्त गर्दै मुलुक सङ्घीय संरचनामा गएपछि प्रदेश प्रदेशबीचको सहकार्य र सम्बन्ध मजबुत बनाउने आधार प्रारम्भ भएको बताए । बारा पर्सामा गत चैत १७ गते आएको हावाहुरीमा २९ जनाको मृत्यु भएको हो भने करोडौँको धनमालको क्षति भएको थियो ।

कर्मचारीको एक दिनको तलब
प्रदेश नं २ का प्रदेश प्रमुखको कार्यालय तथा निजी सचिवालयका कर्मचारीले एक दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी बारापर्साका हावाहुरीबाट प्रभावितका लागि पठाएका छन् ।
हावाहुरीका कारण प्रभावित तथा घाइते भएकाहरुका लागि राहतस्वरुप उक्त रकम पठाइएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत यही वैशाख २७ गते उक्त रकम पठाइएको प्रदेश प्रमुखको कार्यालयले पठाएको पत्रमा उल्लेख छ ।