राजनीति

समाचारको बिषयलाई लिएर एभिन्यूज मिडिया हाउस तोडफोड गर्नु गलतः काँग्रेस

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले एभिन्यूज टेलिभिजनमाथी भएको तोडफोडको बिरोध जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी गरिएको विज्ञप्तीमा समाचारको बिषयलाई लिएर मिडिया हाउसमाथी तोडफोड गर्नु गलत भएको बताईएको छ ।

विज्ञीप्तीमा भनिएको छ,

“एभिन्यूज टेलिभिजनको बिरगञ्ज स्थित कार्यालयमा भएको तोडफोडप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकृष्ट भएको छ ।

कुनै निश्चित समाचार प्रसारणका कारण होस् या व्यक्तिगत अथवा अन्य कुनैपनि कारणले कुनैपनि संचार माध्यममाथि भौतिक क्षति पुग्ने उच्छृङ्खल कार्य जो कसैबाट भएको भए पनि त्यो अत्यन्तै निन्दनीय छ । वर्तमान सरकार बने यता कहिले स्वयं राज्यबाट त कहिले विविध समूहबाट नेपाली प्रेस प्रति प्रताडना बढ्दै गएको तथ्य दुःखद छ । एकातर्फ प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने विधेयक सरकारले ल्याउनु र अर्कोतर्फ मिडिया हाउसमाथि भौतिक आक्रमण हुनु दुवै नै नेपाली प्रेसलाई निरुत्साहित गर्ने र नियन्त्रित गराउन चाहने प्रवृत्तिका उपज हुन् ।

विरगञ्ज घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कानूनी कार्वाहीको दायरामा ल्याउन नेपाली कांग्रेस नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।”