समाचार

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

परासी । पश्चिम नवलपरासीको छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । रामग्राम नगरपालिका–१६ हकुई र रामग्राम–१२ कशियामा भएका दुर्घटनामा बालिकासहित दुई जनाको ज्यान गएको हो ।

ट्राफिक प्रहरी कार्यालय परासीका अनुसार आज बिहान ७ः४५ बजेको समयमा भैरहवाबाट परासीतर्फ आउँदै गरेको लु१ख ७७११ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको हो । दुर्घटनामा परी पैदलयात्री सरावल–५ की नौ वर्षीय प्रिती यादवको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यसैगरी रामग्राम–१२ कशिया चोकमा आज बिहान ११ बजेको समयमा परासीबाट भूमहीतर्फ एउटै दिशाबाट जाँदै गरेका दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक युवाको ज्यान गएको छ ।

प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेका ना ३२ प ९०१३ र ना २९ प ५६४७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा ना २९ प ५६४७ नम्बरको मोटरसाइकलका चालक अन्दाजी २४ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।