राजनीति

महाधिवेशन समयमै भएन भने काँग्रेस अझै कमजोर हुन्छ, नेतृत्वलाई दबाब दिन आवश्यकः डा कोईराला

बिराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी जिल्ला सभापतिहरुले अब महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन अभियान चलाउनु पर्ने आवश्यक्ता रहेको बताएका छन् ।

नेपाल महिला संघ मोरङ्ले बिराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै डा कोइरालाले भने, ‘हामी सरकारमा अनुशासन छैन भनेर आलोचना गर्छौं तर अनुशासनको कसीमा पहिले आफूलाई हेरौँ भन्ने आग्रह गर्दै कार्यक्रमको हल खाली हुनु अनुशासनको कमी हो।’
‘हामी सरकारले संविधान उल्लङ्घन गर्यो भन्छौँ तर के नेपाली काङ्ग्रेस पार्टी चाहिँ आफ्नो विधानअनुसार चलेको छ ?’
‘हामी आफूलाई लोकतान्त्रिक भन्छौँ तर आचरण, व्यवहार र संस्कार पनि लोकतान्त्रिक हुनु जरुरी छ। के अहिलेको अवस्था ल्याउन नेपाली काङ्ग्रेस जिम्मेवार छैन ?’

डा शेखरले महासमितिको निर्णयलाई अटेर गरेर नेपाली काङ्ग्रेसको नेतृत्वले विधिको शासन नमानेको भन्दै उनले यस्तो नेतृत्वले प्रधानमन्त्री ओलीलाई कुन नैतिक बलले पाठ सिकाइरहेका छन् भन्ने टिप्पणी गरे।

‘पार्टी नेतृत्वलाई दबाब नपरेसम्म महाधिवेशन हुँदैन र महाधिवेशन भएन भने नेपाली काङ्ग्रेस अझ कमजोर हुन्छ’, शेखरले भने, ‘जागरण अभियानका क्रममा म काभ्रे खटिएको छु। तर काभ्रेमा कुनै गाउँपालिकामा हाम्रो सङ्गठन छैन, कहाँ र कसलाई गर्ने जागरण ? त्यसैले यो जागरण पनि महाधिवेशन सार्ने एउटा बहाना हो भन्ने मलाई लागेको छ।’ डा शेखरले भने।

कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व पुर्ण रुपमा असफल भएको बताउॅदै पार्टी एकताको लागी आफु बाधक नबन्ने बताए ।महामन्त्री डा. शशांक कोइरालाले महिलालाई ५० प्रतिशत आरक्षण दिनुपर्ने बताए । पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महासमितिको निर्णय ल्याएर नेतृत्वले गल्ती गरेको बताए। केन्द्रिय सदस्य डा रामशरण महतले बहुमतको दम्भ नदेखाउॅन सभापतीलाई चेतावनी दिए ।