लुम्बिनी

खच्चडमा औषधि बोकेर डाक्टरसहितको टोली पुग्दा स्थानीय दङ्गै

रुकुमपूर्व । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–८ मा अहिलेसम्म सडक सुुविधा पुगेको छैन । यहाँका स्थानीय सडक सञ्जालमा जोडिएको क्षेत्र पुग्न एक दिनको पैदलयात्रा गर्न बाध्य छन् ।

भौगोलिक विकटताका कारण यस क्षेत्रका नागरिक गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट समेत वञ्जित भएका छन् तर, आइतबार उक्त क्षेत्रमा खच्चडमा औषधि बोकेर विशेषज्ञ डाक्टरसहितको टोली पुग्यो । पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँको रिवाङचौर स्वास्थ्यचौकीमा डाक्टरसहितको टोली पुग्दा स्थानीय दङ्गै परे ।

राम्रो स्वास्थ्य सेवाको लागि गाउँमा सुविधासम्पन्न अस्पताल नभएको र टाढाको अस्पतालसम्म पुग्न नसकेको बेलामा घोडामा औषधि बोकेर विशेषज्ञ डाक्टरसहितको टोली गाउँमा पुग्दा राम्रो स्वास्थ्य सेवा पाउने भयौँ भन्दै स्थानीय खुशी भए । भौगोलिक विकटताका कारण पछि परेको यस क्षेत्रमा सर्वसाधारणको समस्यालाई मध्यनजर गरेर स्वास्थ्य शिविर सञ्चालन गरेको भन्दै स्थानीय रमा झाँक्रीले खुशी व्यक्त गरे। शिविरमा विशेषज्ञ डाक्टर नवीन बुढाथोकी र सुनिल पुनलगायतको टोलीले सेवा दिने बताइएको छ ।

शिविरमा भिडियो एक्सरे, ल्याब परीक्षण, इसिजी सेवा तथा निःशुल्क औषधि वितरण गरिने अस्पतालका प्रबन्धक हरिबोल भारतीले बताए। साथै शिविरमा ज्वरो, आउने, टाउको दुख्नेलगायत अन्य रोगको पनि जाँच गर्ने र जटिल प्रकृतिका रोगका बिरामीलाई जिल्ला बाहिर पठाइने उनले बताए। शिविरमा आउने प्रायः महिला, वृद्धवृद्धा रहेका छन् । लाजका कारण ग्रामीण भेगका कतिपय नागरिक रोग लुकाएर बस्ने गरेको र तीनै समस्यालाई निर्मूल पार्न स्वास्थ्य शिविरको आयोजना गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका सहजकर्ता लीलामणि गौतमले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नम्बर ५ को कार्यालय बुटवल, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको आर्थिक सहयोग, रुक्मेली सामुदायिक अस्पताल प्रालि रुकुम (पश्चिम) को आर्थिक सहयोग र गाउँपालिकाको आयोजनामा विशेषज्ञ डाक्टरको टोलीद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न थालिएको हो । शिविरको उद्घाटन गर्दै गर्दासम्म २१२ ले नाम दर्ता गरिसकेको अस्पतालका प्रबन्धक भारतीले बताए।

जिल्लाका विकट गाउँमा अहिले पनि यातायातको साधनको रुपमा खच्चडलाई नै प्रयोग गर्ने गरिएको छ तर, दुर्गम क्षेत्रमा खच्चडमार्फत् औषधि ढुवानी गरी नागरिकलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत् सेवा दिएको जिल्लामै यो पहिलोपटक भएको कार्यक्रम सहजकर्ता गौतमले बताए ।