शिक्षा

मुलुक सुहाउँदो जनशक्ति उत्पादन गर्ने शिक्षा निति निर्माण गर्न वर्तमान सरकार लागिपरेको छः शिक्षामन्त्री पोखरेल

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुक सुहाउँदो जनशक्ति उत्पादन गर्ने शिक्षा निति निर्माण गर्न वर्तमान सरकार लागिपरेको बताएका छन् । सुनसरी जिल्ला रामधुनी नगरपालिका–८ मा प्याब्सन नमूना बस्तीको आइतबार शिलान्यास गर्दै उनले अहिलेका बालबालिकाको शिक्षालाई प्रविधिसित जोडेर अघि बढ्नुपर्नेमा जोड दिए।

कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरीले तीन तहको सरकारबीच आपसी सहकार्यबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को सार्थकता पाउने चर्चा गर्दै विकास निर्माणका कार्यमा सबै राजनीतिक दलबीच आपसी सहकार्य हुनुपर्नेमा जोड दिए।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले साक्षर प्रदेश घोषणा गर्ने तयारी भइरहेको बताउँदै सामुदायिक र निजि विद्यालय बीचमा रहेको खाडल हटाउनुपर्ने बताए। प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले गुणस्तरीय शिक्षा, रोजगारी, राष्ट्रिय भावनाको जगेर्ना, शिक्षाका लागि पलायन हुने रकमको न्यूनीकरणलगायतका क्षेत्रमा निजी क्षेत्रले कार्य गरेको दाबी गरे।

रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, रामधुनी नगरपालिका–८ वडाका अध्यक्ष तथा प्याब्सनका पदाधिकारीले नमूना बस्तीको निर्माणबाट गरीबी निवारणमा सहयोग पुग्ने धारणा व्यक्त गरे। एक बिगाहा क्षेत्रफलमा रु एक करोड ५० लाखको लागतमा निर्माण हुने बस्ती २५ परिवारका लागि २५ वटा घर निर्माण हुन गरिनेछ ।

रामधुनी नगरपालिकाले उपलब्ध गराएको जग्गामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल–प्याब्सनले निर्माण गर्न लागेको बस्तीका दुई कोठा, भान्सा र ट्यावाइलेट बाथरुमसहितका घरसहित बालउद्यान, बगैँचा, पार्किङस्थल लगायतका भौतिक संरचना निर्माण हुनेछ ।

आगामी तिहार आगाडि नै उक्त बस्ती हस्तान्तरण गर्ने प्याब्सनका केन्द्रीय अध्यक्ष पुरीले जानकारी दिए। प्याब्सनले वस्ती निर्माण कार्य सम्पन्न भएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत मेचीदेखि महाकालीसम्म २० वटा सर्वसुलभ सार्वजनिक शौचालयसमेत निर्माण गर्ने घोषणा गरिएको छ ।