मनोरञ्जन

सम्मानीत बास्कोटा र प्रधान भन्छन्, ‘भक्तराज आचार्यका छोरा साँगीतिक क्षेत्रका सुनका टुक्रा हुन्'(१२ तस्विर)

काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्य प्रतिष्ठानले बरिष्ठ गायक प्रमध्वज प्रधान र बरिष्ठ संगीतकार शम्भूजित बास्कोटालाई सम्मानीत गरेको छ । भजनशिरोमणि एवं ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७५’ मार्फत दई सर्जकहरुलाई शनिबार ललितपुरमा आयोजीत एक कार्यक्रम मार्फत सम्मान गरिएको हो ।

भजन शिरोमणि भक्तराज आचार्यले बरिष्ठ गायक प्रधान र बरिष्ठ संगीतकार बास्कोटालाई दोसल्ला ओडाएर ताम्रापत्र र नगदसहित सम्मान गर्नुभएको हो । संगीतकार बास्कोटाले ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७५’बाट सम्मानित हुन पाएकोमा खुसी ब्यक्त गर्दै आचार्य एक स्वाभीमानी र सही कुराका लागि जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार रहने आफ्नो आदर्श ब्यक्ती भएको बताए ।

उहाँले लाखौंको प्रिय गायक भजन शिरोमणि भक्तराज आचार्यसँग धेरै कामहरु सँगै गरेको र ‘उहाँ गायक मात्रै नभएर नेपालकै पहिलो लिप्सिङ गर्ने कलाकार पनि भएको दाबी गरे । संगीतकार बास्कोटाले भजनशिरोमणि आचार्यले पञ्चायतकालकै समयमा रोयल्टीको मुद्दा उठाउनुभएको कुरालाई पनि संगीतकार बास्कोटाले सम्झिएका थिए ।
बरिष्ठ गायक प्रेमध्वज प्रधानले पनि आफू ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७५’ सम्मानित हुन पाउँदा निकै खुसी लागेको बताउदै यो सम्मानले गीत÷संगीतमा लाग्नेहरुका लागि अझ आत्मबल बढाएको उनको भनाइ थियो ।

सामाजिक र साङ्गीतिक कार्यहरुमा क्रियाशील रहेको भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानले गायन र सङ्गीत क्षेत्रका स्रष्टाहरुलाई हरेक वर्ष सम्मान गर्दै जाने जानकारी गराएको छ ।

‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७५’ कार्यक्रममा गायक सत्यराज र स्वरुपराज आचार्यले पूराना गीतहरु प्रत्यक्ष प्रस्तुत गरेका थिए । गायक आचार्यले बरिष्ठ गायक प्रेमध्वज प्रधानको कालजयी गीत ‘पर लैजाउ फूलहरु‘’ र आफ्नै बुबा भक्तराज आचार्यको चर्चित ‘हजार सपनाहरुको‘’ बोलको गीत प्रस्तुत गरेका थिए ।

त्यस्तै गायक स्वरुपराज आचार्यले स्वरसम्राट नारायण गोपालको ‘पर्खी बसेँ‘’गीत लाई प्रत्यक्ष प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रायोजन सिटी मनी एक्सप्रशेसले गरेको थियो ।