सुदूरपश्चिम

चौध हजार ६६० लिटर घरेलु मदिरा नष्ट

बाजुरा । जिल्ला प्रहरी कार्यालयले सात महीनाको अवधिमा ठूलो परिणममा घरेलु मदिरा नष्ट गरेको छ । गएको असोजदेखि आजसम्म अबैधरूपमा बेच्न राखिएका १४ हजार ६६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको बताइएको छ ।

कार्यालयले अवैधरूपमा मदिरा उत्पादन र सेवनलाई अन्त्य गर्ने उद्देश्यले चलाएको अभियानअन्तर्गत जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी चौकीको सक्रियातमा उक्त परिणामको मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिए।

मदिराकै कारण प्राय श्रीमान्–श्रीमतीबीच झगडा हुने, समयमा काममा जान नपाउने, बालबालिकाको पढाइमा बाधा पुग्ने र घरपरिवारका साथै समाजमा समेत असर परेको बडीमालिका नगरपालिका–९ की महिला वडा सदस्य तुला विष्टले बताए ।

जिल्लामा हुने अपराधबारे अनुसन्धान गर्दै जाँदा जाडरक्सी सेवन, विकृतिको मुख्य कारकको रुपमा रहेको पाइएकाले मदिरा उत्पादन र सेवनलाई निरुत्साहित गर्ने अभियान चलाइएको डिएसपी उद्धवसिंह भाटको भनाइ थियो ।