गण्डकी प्रदेश

मिस्त्रीखोलाको दुई हजार २७० मिटर लामो सुरुङ निर्माण सम्पन्न

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ । रोवस्ट इजर्नी प्रालिले निर्माणाधीन ४२ मेगावाट क्षमताको आयोजनाका लागि दुई हजार २७० मिटर लामो सुरुङ निर्माण गरेको हो ।

सन् २०१६ को जुन १३ मा सो सुरुङको काम शुरु गरिएको थियो । नेपाली सेनाको निगरानीमा विस्फोटक पदार्थ प्रयोग गरेर बाँधतर्फबाट ९२६ मिटर र आउटलेटबाट एक हजार ३४४ दशमलव पाँच मिटर सुरुङ निर्माण गरिएको आयोजनाका इञ्जिनीयर दिवाकर खड्काले जानकारी दिए। उक्त आयोजनाको बाँध, विद्युत्गृह र पेनस्टक पाइप जडान गर्ने काम ८० प्रतिशत सकिएको छ ।

निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण गरिएको र सो बाँधक लागि पहाडभित्र १३५ मिटर सुरुङ खनी पानीलाई ‘डाइभर्ट’ गराएर बाँध निर्माण गरिएको हो । मिस्त्रीखोलाको पानी थिग्राउने पोखरी (क्यानल) भूमिगत हो । पहाडभित्र ११५ मिटर लम्बाइ, ८।५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई बालुवा थिग्राउने भूमिगत पोखरी बनाइएको छ ।

आउटलेटदेखि बाँधसम्म एक हजार ५०० मिटर लम्बाइ दुई मिटर गोलाइको पेनस्टक पाइप जडानकार्य ८० प्रतिशत सकिएको छ । आयोजनाले नारच्याङबेँसीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तीन बेलिब्रिज निर्माण गरेको छ । रु पाँच अर्ब ६४ करोड लागत अनुमान गरिएको सो आयोजना स्वदेशी लगानीमै निर्माण हुन लागेको हो ।

विद्युत् विकास विभागले २०६४ मा सो आयोजना निर्माणका लागि अनुमति दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सवस्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि धकेलिएको बताइएको छ । म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये यो सबैभन्दा ठूलो आयोजना हो ।