गण्डकी प्रदेश

लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग निर्माण

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटस्थित माछेखोलामा पदमार्ग निर्माणका लागि तोकिएको लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग बनाएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० हजार बजेटबाट पदमार्ग बनाउन शुरु गरेका माछेखोलावासीले रू एक लाख ५० हाजारमा सो काम पूरा गरेका हुन् ।

मौवाफाँटको मसिनाचोकदेखि मौवाफाँट हुँदै भगवती जोड्ने मोटरबाटोसम्म माछेखोलाको किनारमा साँघुरो डोरोमा ढुङ्गा चिनेर पदमार्ग बनाइएको उपभोक्ता समितिका अध्यक्ष गोपाल शर्माले बताए। उनका अनुसार छ व्यक्तिले करीब ४० दिन समय खर्चेर पदमार्ग बनाएका थिए । सरकारी बजेटले थोरै मात्रै पदमार्ग बन्ने भएको र यसबाट स्थानीयवासीलाई दैनिक आवतजावतमा कठिन हुने भएकाले एक महीनाभन्दा बढी समय लगाएर पदमार्ग बनाइएको अध्यक्ष शर्माले बताए।

वर्षात्को समयमा खोला बढेपछि माछेखोलाका बासिन्दा जिल्ला सदरमुकाम आउनका लागि समेत घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो । अहिले खोलाको किनारमा परम्परागत रुपमा आवतजावतका लागि प्रयोग गरिँदै आइएको ठाउँमा ढुङ्गा चिनेर पदमार्ग बनाएपछि वर्षात्को समयमा समेत बालबालिकादेखि वृद्धवृद्धासम्म सहजरूपमा आवतजावत गर्न सक्ने भएका छन् ।

खोलाको छेउछाउ पदमार्ग बनाइएकाले खोला तर्नुपर्ने स्थानमा ढुङ्गाकै फड्केसमेत बनाइएको छ । मसिनाचोकमा मोटरबाटोबाट माछेखोलातर्फ जाने स्थानमा भने वारपारका लागि सानो फड्के उपयुक्त नहुने भएकाले थप सहयोग उपलब्ध गराउनका लागि गाउँपालिका र वडा कार्यालयमा अनुरोध गरिएको बताइएको थियो ।