राजनीति

सम्मानित हुंदै देउवाले भने, ‘ओली सरकारले गरेका गलत कामको काँग्रेसले सडकबाट बिरोध गर्छ’

काठमाण्डौ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनअघिको संसद्मा बोलिएको असंसदीय शब्दलाई तत्काल हटाउन सभामुखले हिम्मत गर्न नसकेको बताएका छन् । शनिबार पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले संसद्मा प्रधानमन्त्रीले संसदीय परम्परा बाहिर गएर बोलेको जिकिर गर्दै बोलिएका शब्द ढिलो भए पनि रेकर्डबाट हटाइँदा राम्रो भएको बताए ।

देउवाले वर्तमान सरकार प्रेस स्वतन्त्रता, न्यायालय सबै क्षेत्रमा हस्तक्षेप भएको भन्दै पार्टीले थालेको जनजागरण अभियानका क्रममा सरकारले गरेका गलत कामको खबरदारी गर्न लागिएको बताए ।

देउवा सम्मानित

काङग्रेस सभापति देउवालाई महेशरामायण सभा (सीताराम माध्यमिक विद्यालय) डोटीले शनिबार गरेको कार्यक्रममा सम्मानित गरिएको छ । सभाले आफ्नो हीरक (६०औँ स्थापना दिवस)का अवसरमा गरेको कार्यक्रममा उक्त विद्यालयबाट विसं २०१९ मा प्रवेशिका परीक्षा(एसएलसी) उत्तीर्ण गरेका पूर्वप्रधानमन्त्री देउवालाई सम्मानित गरिएको हो ।
समारोहमा विद्यालयका पूर्वप्राचार्य लोकराज पन्तले दोसल्ला र प्रमाणपत्रले देउवालाई सम्मानित गरेका थिए । समारोहमा नेकपाका नेता एवं सांसद लेखराज भट्ट, पूर्वसांसद भक्तबहादुर बलायर, वीरबहादुर बलायर, प्रदेशसभा सदस्य पूर्णा जोशी लगायतलाई पनि सम्मानित गरिएको थियो ।