साहित्य

पारिजातको प्रेरणाबाट धेरै युवाले प्रगति गरे

काठमाण्डौ । पारिजात स्मृति प्रतिष्ठानले आज चार साहित्यकारलाई सम्मानित गरेको छ । पारिजातको योगदानलाई विश्वमाझ चिनाउन सहयोग गरेको भन्दै प्रतिष्ठानले सम्मान गरेको हो ।

सो अवसरमा पारिजात सिर्जना सम्मानबाट आनन्ददेव भट्ट, पारिजात सङ्घर्षशील नारी सम्मानबाट सरिता महर्जन, पारिजात कला सम्मानबाट रामकृष्ण दुवाल र पारिजात बालसाहित्य सम्मानबाट खगेन्द्र सङ्ग्रौला प्रशंसापत्रसहित सम्मानित भएका छन् । नेपाली साहित्यमा पारिजातको अतुलनीय योगदान रहेको गायक रामेश श्रेष्ठले बताए ।

“उहाँको जीवनीबाट आजका युवाले धेरै प्रगति गर्न सक्छन्”, उनले भने । आज नेपाली समाज विकृत हुँदै गएकाले मानिसमा सकारात्मकता हराउँदै गएकामा उहाँले दुःख व्यक्त गरे । वरिष्ठ लेखक खगेन्द्र सङ्ग्रौलाले निकै सरल व्यक्तित्वका रुपमा परिचित पारिजातले नेपाली समाजको परिवर्तनमा महत्वपूर्ण योगदान गर्नुभएको बताए । महिला आन्दोलनमा पारिजातले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उनले स्मरण गरे ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष रायनले पारिजातको समयमा उहाँकै प्रेरणाबाट धेरै युवाले प्रगति गरेको जानकारी दिए।