समाचार

धार्मिकस्थलको विकाससँगै पर्यटकको भित्राउन बल गर्नुपर्छः नेता खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेपालका धार्मिकस्थलको विकाससँगै पर्यटकको आकर्षण बढाउनुपर्नेमा जोड दिएका छन् ।

श्री पशुपतिनाथ एवं वाग्मती गङ्गा आरती सेवा समिति नेपालद्वारा आज यहाँ आयोजित ‘स्मारिका–२०७६’ विमोचन कार्यक्रममा उनले नेपालका जीर्ण अवस्थामा पुगेका पुराना मठमन्दिरको समेत पुनःसंरचनासँगै पर्यटकको आकषर्ण बढाउनुपर्ने बताए ।

“सेवा समितिले पशुपतिमा शुरु गरेको गङ्गा आरती कार्यक्रमले पशुपतिको महत्वसँगै पर्यटकको समेत आकर्षण बढाएको छ, यस्ता अन्य धार्मिकस्थलमा फरक फरक ढङ्गबाट पर्यटकको आकर्षण बढाउन सकिन्छ”, उनले भने । विसं २०६४ देखि पशुपतिनाथ मन्दिरको पूर्व भाग वाग्मती गङ्गाको पूर्वी प्राङ्गणको सार्वजनिकस्थलमा हरेक बेलुका गङ्गा–आरती कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

पूर्वमन्त्री शान्ता मानवीले धार्मिकस्थलका रुपमा परिचित पशुपति क्षेत्रलाई अझै व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताईन् । समितिका अध्यक्ष जनार्दन शर्मा अधिकारीले पछिल्लोपटक सङ्गीतमय आरतीप्रति स्वदेशी र विदेशीको समेत आकर्षण बढ्दै गएको जानकारी गराए ।