गण्डकी प्रदेश

बालकक्षा सुधारमा पूर्वविद्यार्थीको अगुवाइ

बागलुङ । फराकिलो कोठा, ‘कार्पेट’ ओछ्याएको भुइँ, सुकिला चकटी, नानाथरी खेलौना अनि तख्तामा खेल्दै सिक्ने सामग्री, झट्ट हेर्दा देखिने यो दृश्य हो विद्यामन्दिर मावि, बालकक्षाको । बागलुङ नगरपालिका–३ स्थित विद्यालयको बालकक्षा यत्तिमा समेटिन्न । स्वच्छ वातावरण, सफा पिउनेपानी, मीठो खाजा, दक्ष शिक्षक र स्तरीय सिकाइ पद्धतिले बालकक्षाको अरु अवस्था दर्शाउँछ । यो यत्तिकै भएको भने होइन ।

गत वर्षसम्म बालबालिका भुइँमा बसेर पढ्थे, भोकभोकै हुन्थे, सिकाइमैत्री वातावरण थिएन भने बालकक्षा अव्यवस्थित थियो । तर, अहिले बालकक्षाको अवस्था फेरिएको छ । कलिला बालबालिकाले पढ्ने, सिक्ने ठाउँको दयनीय अवस्था देखेपछि विद्यालयका पूर्वविद्यार्थीको मन कुँडियो । बालबालिकामा गुणस्तरीय शिक्षाको जग बसाल्नुपर्छ भन्ने सोच जन्मियो । बालकक्षा सुधारमा पूर्वविद्यार्थीले अगुवाइ गरे ।

वर्ष दिनको अवधिमा बालकक्षामा उल्लेख्य सुधार आएको छ । बालबच्चा ल्याउन अभिभावकले तछाडमछाड गनुपर्ने अवस्थाको सिर्जना भएको छ । शिशु र बालविकासका रुपमा दुई तहका कक्षामा बालबालिका पढ्छन् । दुवैमा गरी अहिले ४० बालबालिका छन् । बालकक्षाको व्यवस्थापकीय सुधारसँगै गुणस्तर बढाउन लगानी गरिएको पूर्वविद्यार्थी मुकेशचन्द्र राजभण्डारीले बताए। भौतिक सुधार, निःशुल्क खाजा, पोशाक र शिक्षक व्यवस्थापनमा रु छ लाखभन्दा बढी खर्च भइसकेको उनको भनाइ थियो ।

“पूर्वविद्यार्थीको सहयोगमा व्यवस्थापन अघि बढेको छ”, राजभण्डारीले भने, “यो वर्ष झण्डै रु १० लाख खर्च हुने अनुमान छ ।” पूर्वविद्यार्थीकै सहयोगमा बालकक्षामा एक सहजकर्ता थपिएको छ । विद्यार्थीलाई निःशुल्क खाजाको व्यवस्था गरिएको छ । खाजामा मात्र मासिक रु ३० हजार खर्च हुने गरेको छ । खाजासँगै बालबालिकालाई दूध पनि खुवाइन्छ । शिशुकक्षामा निःशुल्क खाजा गत वर्ष पूर्वप्रधानन्यायाधीश एवं विद्यालयका पूर्वविद्यार्थी कल्याणकुमार श्रेष्ठले शुभारम्भ गरेका थिए।

शिशुपछिका बालबालिकालाई निःशुल्क खाजा गत मङ्गलबार विद्यालयका पूर्वविद्यार्थी एवं नागरिक सञ्चार प्रालिका अध्यक्ष पुष्पमान श्रेष्ठले शुभारम्भ गरेका थिए। बालमैत्री वातावरणमा सिकाइको गुणस्तर बढाउन दिवाखाजाले टेवा पुर्‍याउने उनको विश्वास छ । बालकक्षा व्यवस्थापनमा पूर्वविद्यार्थीको सहयोग आउने क्रम जारी छ । हालसम्म निर्देश राजभण्डारीबाट रु २५ हजार, सुवास राजभण्डारीबाट रु ३० हजार, पूर्वप्रधान्यायाधीश कल्याणकुमार श्रेष्ठबाट रु २४ हजार प्राप्त भएको छ ।

यस्तै पूर्वविद्यार्थी राजेन्द आचार्यले रु १२ हजार ५००, ओमबहादुर जिसीले रु एक लाख एक हजार १११ र पुष्पमान श्रेष्ठले रु ३० हजार प्रदान गरेका छन्। बालकक्षाको फर्निचर व्यवस्थापनका लागि सुनिल प्रधानबाट रु दुई लाख र विनय शाक्यबाट रु २० हजार सहयोगको प्रतिबद्धता आएको छ । बालकक्षामा आकर्षण बढाउन र बालबालिका टिकाउन दिवाखाजाले सहयोग पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए। बालकक्षामा अधिकांश विपन्न वर्गका बालबच्चाले पढ्ने हुँदा सबै क्षेत्रको सहयोगको खाँचो रहेको उनको भनाइ थियो । “बालकक्षा सुधारमा पूर्वविद्यार्थीले देखाएको तदारुकता अनुकरणीय छ”, उनले भने।