बाग्मती

उपभोक्ता ऋणी बनाएर खानेपानी परियोजना सञ्चालन

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा उपभोक्तालाई ऋणी बनाएर सुनकोशी पाँचखाल बृहत् खानेपानी परियोजना सञ्चालन गरिने भएको छ । पाँचखालका सबै बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त परियोजनाका लागि नगरसभाले हाल उपभोक्तालाई नगरको अगुवाइमा स्थानीय सहकारीमा ऋणी बनाइने र पछि उपभोक्ताबाट सहकारीमा पैसा असुलउपर गर्ने निर्णय गरेको हो ।

“जसरी पनि खानेपानी योजना सम्पन्न गर्नुपर्नेछ, यसबाहेक अर्को विकल्प नभएपछि नगरसभामा यस्तो निर्णय गर्‍यौँ”, नगरप्रमुख महेश खरेलले भने।पाँचखालका छ हजार घरपरिवारले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले जम्मा गर्नुपर्नेछ । कूल परिवार सङ्ख्यामध्ये १५ प्रतिशतले उक्त रकम जम्मा गर्न नसक्ने देखिएपछि नगरले उपभोक्तालाई ऋणी बनाउने विधि अपनाएको हो । नगरप्रमुख खरेलले भने, “सहकारीमा सदस्य भएकाले सोही सहकारीबाट र नभएकालाई सदस्य बनाएर ऋण दिलाइेछ ।”

परियोजना रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए। उनका अनुसार नेपाल सरकार, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ । खानेपानी परियोजनाका लागि स्थानीय युवाले तीन महीनादेखि जागरण अभियान सञ्चालन गरिरहेका छन् । परियोजनाको बैंक खातामा हालसम्म रु चार करोड ४० लाख जम्मा भएको समितिका अध्यक्ष लामिछानेले जानकारी दिए।

दातासँगको सम्झौताअनुसार उपभोक्ता समितिले परियोजनामा पाँच प्रतिशत रकम ब्यहोर्नुपर्नेछ । दातासँग आउँदो असार मसान्तभित्र परियोजनाको पाँच प्रतिशत रकम जम्मा गर्नुपर्ने सम्झौता भएको छ । सम्झौताअनुसार समितिले निर्धारित समयमा रकम जम्मा गर्न नसके परियोजना कार्यान्वयन गर्न नसकिने अध्यक्ष लामिछानेले बताए। उनले भने, “यसका लागि तीन महीनादेखि जागरण अभियान चलाइरहेका छौँ ।”

सुनकोशी पाँचखाल बृहत् खानेपानी परियोजना सफल बनाउन सञ्चालित जागरण अभियानअन्तर्गत वडाका बस्ती–बस्तीमा उपसमिति बनाइएको छ । सोही उपसमितिले बस्तीका बासिन्दालाई रकम जम्मा गर्न जानकारीमूलक सन्देश दिइरहको पाँचखाल नपा–६ धोत्राका भेषराज दनुवारले बताए। अभियानमा विभिन्न सङ्घसंस्था, विद्यालय तथा सरोकारवालाको सहभागितामा प्रत्येक वडामा परियोजनासम्बन्धी जानकारीमूलक ब्यानर र प्लेकार्डसहितको र्‍याली गर्दै आइएको छ । इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरमा खानेपानी व्यवस्थापन गर्न लागिएका हो ।