गण्डकी प्रदेश

पशु बधशाला निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

कास्की । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा पोखरामा अत्याधुनिक पशु बधशाला निर्माण गरिने भएको छ । महानगरको वडा नं २१ स्थित दोविल्लामा १२७ रोपनी क्षेत्रफलमा संयुक्त लगानीमा बधशाला निर्माणसम्बन्धी समझदारीपत्रमा शुक्रबार प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र महानगरकाबीच हस्ताक्षर सम्पन्न भएको छ ।

प्रदेश मन्त्री लेखबहादुर थापामगर र महानगर प्रमुख मानबहादुर जिसीको उपस्थितिमा भएको समझदारीपत्रमा मन्त्रालयका तर्फबाट सचिव दुर्गाप्रसाद दवाडी र महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले हस्ताक्षर गरे।

समझदारीअनुसार चालू वर्षमा मन्त्रालयबाट रु तीन करोड र महानगरले रु दुई करोड लगानी गरी साझेदारीमा बधशाला निर्माण अघि बढाउने उल्लेख छ । बधशाला निर्माणका लागि आवश्यक जमीन तथा सोको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने र प्रचलित खरीद कानूनअनुसार बधशाला निर्माण र व्यवस्थापनको जिम्मा महानगरले लिने समझदारी भएको छ ।

त्यस्तै मन्त्रालयले निर्माणकार्यको समय–समयमा अनुगमन गर्ने र अनुगमनको क्रममा कमीकमजोरी देखिएमा सुधारका लागि महानगरलाई सुझाव दिनेछ । प्रदेशको एकमात्र आधुनिक सो बधशालामा खसीबोका र पाडा राँगाको छुट्टाछुट्टै बधस्थल, चीसो कोठा तथा बध अगाडि पशुको स्वास्थ्य परीक्षणस्थल लगायतको व्यवस्था गरिने मन्त्री थापाले बताए।

उनले भने, “पर्यटकीय शहर पोखरामा आउने पर्यटकलाई स्वच्छ र सफा मासु उपभोग गर्नको लागि बधशाला अपरिहार्य छ, पशुबध तथा मासु बिक्रीका लागि आवश्यक सम्पूर्ण प्रावधान अनुरुप व्यवस्थित र आधुनिक बधशाला निर्माण गर्दछौँ ।”

महानगर प्रमुख जिसीले बधशाला निर्माण कार्यको डिपिआर तयार भइरहेकाले अहिले नै लागत यकिन नभए पनि प्रारम्भिक अनुमानमा करीब रु १० करोड बजेट आवश्यक पर्ने बताए। उनले चालू आवभित्रै निर्माणकार्यको बोलपत्र आह्वान गरी सम्झौता गरिसक्ने र आगामी वर्षभित्रमा पूरा गर्ने योजना रहेको बताए।

प्रमुख जिसीले बधशाला निर्माणमा हेफर नेपालले पनि सहकार्य गर्ने इच्छा देखाएको भन्दै आगामी वर्षमा पनि बधशालाका लागि बजेट विनियोजन गरिने बताए। विगतका वर्षमा पनि साविकको जिल्ला पशु सेवा कार्यालयले पटकपटक पशु बधशाला निर्माणको लागि बजेट विनियोजन गरे पनि कार्यान्वयन हुनसकेको थिएन ।