खेलकुद

फलेवासमा प्रथम मेयरकप शुक्रबारदेखि शुरु

पर्वत । फलेवास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयर कप खेलकूद कार्यक्रम हिजो शुक्रबारदेखि फलेवासको माझीगाउँ चौर खेल मैदानमा शुरु भएको छ ।

‘खेलकूद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी’ भन्ने मूल नाराका साथ वैशाख २७ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । प्रतियोगितामा नगरपालिकाभित्रका १५ विद्यालय र ११ वडाको सहभागिता रहेको छ । नगरभित्र रहेका खेल प्रतिभाहरुको खोजी गर्ने तथा उनीहरुलाई अवसर प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए। प्रतियोगितामा एथलेटिक्स, भलिबल, सेभेन ए साइड फुटबल आयोजना गरिएको छ ।

एथलेटिक्स र भलिबलतर्फ विद्यालयले प्रतिस्पर्धा गर्नेछन् भने सेभेन ए साइड फुटबल प्रतियोगितामा वडास्तरीय फुटबल क्लबहरुका बीचमा प्रतिष्पर्धा हुनेछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका हरेक पालिकामा एक–एक वटा सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने लक्ष्य रहेको बताउँदै खेलकूद र खेलपर्यटनलाई प्राथमिकता राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताए ।

उनले माझीगाउँ चौरलाई खेलमैदान र रङ्गशालाका रुपमा विकास गर्न आगामी वर्षको बजेटदेखि नै कार्यक्रम शुरु गरिने आश्वासनसमेत दिए। प्रतिनिधिसभाका सदस्य पदम गिरीले खेलकूदको विकासबाट युवामा अनुशासन र कर्तव्यप्रति इमान्दारिता बढाउने भएकाले यस्ता प्रतियोगिताहरु आवश्यक भएकामा जोड दिए । प्रदेशसभा सदस्य जुनादेवी नेपाली, जिल्ला समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेल, महाशिला गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासङ्घका प्रदेश सहसंयोजक राजुप्रसाद पौडेल, फलेवास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारीको उपस्थिति थियो ।