राजनीति

मदन भण्डारीले नेपालको राजनीतिका लागि नयाँबाटो दिनुभएको होः प्रधानमन्त्री

हनोइ । प्रधानमन्त्री केपी शर्मा ओलीले हो ची मिन्हले भियतनामको स्वतन्त्रतामा योगदान दिएको, सिद्धान्तमा कहिल्यै सम्झौता नगरेको, स्वतन्त्रता र न्यायको मार्गबाट कहिल्यै पछाडि नहटेको तथा उनले समाजवाद र परिवर्तनको वास्तविक अर्थ दिएको बताएका छन्। उनले होको नेतृत्वमा भएको भियतनामको क्रान्ति तथा राष्ट्रिय स्वतन्त्रता आन्दोलन नेपालको समाजवादी, प्रजातान्त्रिक तथा राष्ट्रवादी आन्दोलनका लागि अभिप्रेरणाको स्रोत भएको पनि बताएका छन् ।

समाजवादी गणतन्त्र भियतनामको पाँचदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हो ची मिन्ह राष्ट्रिय राजनीतिशास्त्र प्रतिष्ठानको एक मञ्चलाई शुक्रबार सम्बोधन गर्दै आफू होबाट बाल्यकालदेखि नै प्रभावित भएको बताए । उनले होलाई नेपालमा पनि सम्मानका रूपमा हेरिने गरिएको र उनको सम्मानमा अनेकौँ कविता, निबन्ध र गीत लेखिएको बताए।

प्रधानमन्त्री ओलीले हो असाधारण नेता भएको र उनले इतिहास परिवर्तन गर्दै आफ्ना जनता तथा मुलुकलाई गौरवान्वित बनाएको र विश्वलाई समाजवादी आन्दोलनको नयाँ दिशा र आयाम दिएको बताए। उनी राष्ट्रिय बल तथा साहसको प्रतीक भएको, उनले जनताको निःसर्त समर्थन प्राप्त गरी विश्वको सबैभन्दा बलियो सेनालाई पराजित गर्न त्यसलाई उपयोग गरेको प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीले नेपाल कहिल्यै उपनिवेश नभएको र यसले आफ्नो सार्वभौमसत्ता तथा स्वतन्त्रता संरक्षण गर्न सङ्घर्ष गरेको बताए । यसै कारण दुई मुलुकका जनताबीच एकता तथा मित्रता बलियो भएको उनले उल्लेख गरे। प्रधानमन्त्री ओलीले भियतनामको वर्तमान इतिहासले एउटा युद्धग्रस्त मुलुकले आफूलाई कसरी पुनर्निर्माण गर्छ भन्ने देखाएको र नेपालमा पनि युद्धपछिको अवस्थामा पुनर्निर्माणको चुनौती रहेको बताए ।

उनले भियतनाममा माक्र्सवादको मौलिक उपयोगले नेपाली जनतालाई आफ्नो मुलुकले भोगेका अनेकौँ चुनौतीको उपयुक्त दिगो समाधान खोज्न अभिप्रेरणा दिएको बताए। प्रधानमन्त्री ओलीले माक्र्सवाद तथा समाजवादको सिर्जनात्मक उपयोगबाट दुवै मुलुकले सामान्तवादी राजतन्त्र अन्त्य गर्न सफलता प्राप्त गरेको बताए। उनले भियतनाममा झैँ नेपालमा पनि माक्र्सवादको विचारधारालाई स्थानीय परिस्थितिमा उपयोग गरी समाजवाद निर्माण चाहेको बताए र समाजवादको खोजी नेपाली संविधानको लक्ष्य भएको पनि उल्लेख गरे।

प्रधानमन्त्री ओलीले नेपाल तथा भियतनाम दुवैले क्रान्तिकारी परिवर्तन शान्तिपूर्ण तरिकाले सम्भव भएको देखाएको पनि उल्लेख गरे । उनले समाजवादले नै विश्वको वर्तमान समस्याको सही समाधान दिने र एक्काइसौँ शताब्दीको समाजवाद नयाँ आयाम अपनाउनुपर्ने बताए। प्रधानमन्त्री ओलीले सन् १९८० को दशकमा अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनले समस्या भोगेको र नेपालमा मदन भण्डारीले राजनीतिक अधिकारका लागि प्रजातान्त्रिक आन्दोलन र स्वतन्त्रताका लागि नयाँ दिशा दिएको बताए। उनले भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्त माक्र्सवादी दर्शनभित्रै प्रस्तुत गरेको र यसबाट परिवर्तित परिस्थितिमा दिशा दिएको जानकारी गराए।

प्रधानमन्त्री ओलीले यसै विचारधारालाई अवलम्बन गरी बहुदलीय प्रतिस्पर्धाबाट संवैधानिक संरचनामा मौलिक अधिकार तथा स्वतन्त्रता प्राप्त गर्न सकिएको बताए । उनले कहिलेकाहीँ यसलाई पूँजीवादी प्रणालीसँग भ्रममा पर्न गए पनि त्यो कुरा सत्य नभएको विचार व्यक्त गरे। प्रधानमन्त्री ओलीले प्रतिस्पर्धाको मूल्य तथा जनताको प्रजातन्त्र नेपाली जनताले लामो समयसम्म गरेको राजनीतिक सङ्घर्षबाट प्राप्त गरेको बताए। उनले नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको पहिलो नारा ‘जनताको नागरिक अधिकार स्थापना गर’ भन्ने भएको बताए।

“आरम्भका दिनमा नेपाली राजनीति राष्ट्रवादी र मुलुकको एकीकरणका लागि सङ्घर्षका रूपमा शुरु भयो । त्यसपछि यो आन्दोलन बेलायती सम्राज्यवादको विरोध तथा सार्वभौमसत्ता तथा क्षेत्रीय अखण्डताको संरक्षणका लागि भयो र पछि यो समाजका विभिन्न प्रकारका विभेदविरुद्ध मानवीय सङ्घर्ष भयो”, प्राधानमन्त्री ओलीले भने।

उनले गत महीना नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइएको बताए र सन् २०१५ मा स्थापना भएको संविधानले प्रजातन्त्र, समावेशिता तथा मानवीय नीतिका सबै गुण समेटेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले सन् २०१७ मा भएको निर्वाचनपछि जनताले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि जनादेश दिएको र नेपाल कम्युनिष्ट पार्टीसँग संसद्मा दुई तिहाइ बहुमत भएको बताए। उनले वर्तमान सरकारले समृद्ध नेपाल र सुखी नेपालीको चाहनालाई अगाडि बढाएको बताए।

प्रधानमन्त्री ओलीलाई प्रतिष्ठानका अध्यक्ष न्युऐन सुआन थाङले स्वागत गरेका थिए।