समाचार

हाम्रा मान्छे नै मेलम्ची आउन नदिने खेलमा लागे तर जसरीपनि ल्याउछौंः अध्यक्ष दाहाल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले हिम्मतदार हात नचलाइकन मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ ल्याउन मुस्किल पर्न सक्ने बताएका छन् ।

उनले भने, “मेलम्ची खानेपानी आयोजनालाई सम्पन्न गर्न प्रधानमन्त्रीले पनि तत्परता देखाउनु भएको छ, मन्त्री सचिव पनि लाग्नुभएको छ । तर आयोजनामा समस्या देखिएको छ । त्यसलाई समाधान गर्न सरकारले तत्काल कडा निर्णय गर्नु जरुरी देखिएको छ ।”

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्गठनको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष दाहालले एउटा प्रवृत्तिले मेलम्चीको पानी काठमाडौँ ल्याउन अवरोध गरेको र त्यस्तो प्रवृत्तिलाई कारवाहीको दायरामा ल्याउन सरकारले कडा कदम चाल्नुपर्नेमा जोड दिए ।

नयाँ वैकल्पिक व्यवस्था गरेरै भए पनि आयोजनालाई छिटो सम्पन्न गराउन सरकारले छिट्टै निर्णय गर्ने अध्यक्ष दाहालको विश्वास थियो । इटालीको ठेकेदार कम्पनी सिएमसीले आयोजना अलपत्र छाडेपछि हाल निर्माण कार्य अवरुद्ध छ ।

अध्यक्ष दाहालले भने, “सुरुङ खन्ने काम सकिएको छ, काठमाडौँ उपत्यकाभित्रको तयारी अन्तिम सम्पन्न हुने चरणमा पुगेको छ । सुन्दरीजलमा बनाउनुपर्ने पूर्वाधार अन्तिम चरणमा पुगेको छ तर आयोजना सम्पन्न हुने अझै केही समय लाग्ने देखिएको छ, किन यस्तो भइरहेको छ ?”

गत दशैँ आसपास नै आयोजना सम्पन्न भइहाल्छ भन्ने अवस्थामा केही मान्छे मेलम्ची आउन नदिने खेलमा लागेको पाइएको उनको भनाइ छ । अध्यक्ष दाहालले भने, “केही हाम्रा मान्छे (नेपाली) नै आयोजना समयमा सम्पन्न हुन नदिने खेलमा लागे । यस्तो स्थिति आयोजनामा देखिएको छ ।”

आयोजनामा देखिएका चुनौतीलाई सम्पन्न गर्न राजनीतिक नेतृत्वले हस्तक्षेप नै गर्नुपर्ने उनको कथन थियो । उनले आयोजना सम्पन्न हुन नदिने र लामो समय लगाउने रोग लागेको भन्दै त्यसको निरुपणका लागि सबैको साथ र सहयोग जरुरी रहेको अध्यक्ष दाहालको भनाइ छ ।

उनले भने, “मेलम्चीमा छिट्टै सञ्चो नहुने खालको रोग लागेको छ । उपचार चाहिँ छ, जरुरी प¥यो भने अपरेसन गर्न पनि ढिला नगर्ने तर मेलम्ची ल्याउनुपर्छ ।” सम्मेलन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न हुने आयोजकले जानकारी दिएका छन् ।