समाचार

मिडिया काउन्सिल विधेयक फिर्ता लिन महासङ्घको माग

काठमाण्डौ । नेपाल पत्रकार महासङ्घले संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारसमक्ष माग गरेको छ ।

विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अङ्गका रुपमा स्थापित गर्नाका साथै स्वतन्त्र पत्रकारितामाथि अङ्कुश लगाउन खोजेको भन्दै महासङ्घले सो आग्रह गरेको हो ।

महासङ्घको आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उक्त विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग माग गरेको छ ।

‘संसद्मा विचाराधीन अवस्थामा रहेका विज्ञापनसम्बन्धी ऐन र सूचना प्रविधिसम्बन्धी ऐनमा प्रेस स्वतन्त्रता विरोधी दफा सच्याउन माग गर्दछौ, साथै मस्यौदा हुँदै गरेका आमसञ्चार ऐन र सार्वजनिक सेवा प्रसारण ऐनका सम्बन्धमा सबै सरोकारवाला पक्षसँग छलफल र सहमति कायम गर्न आग्रह गर्दछौ’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । महासङ्घले मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध विभिन्न विरोधका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।