खेलकुद

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’मा मिडिया बास्केट, शीलापत्र डटकम, मिडिया हब र भोग एण्ड एण्ड इभेन्ट सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सानेपाको फिल्ड फुटसल शुक्रबार भएको प्रि क्वार्टरफाइनल र क्वार्टरफाइनलमा विजयीहुँदै चार टिमले सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
प्रि क्र्वाटरफाइनलमा कान्तिपुर मिडिया ग्रुपले एड रिलिजमाथि १–० को जीत निकाल्दा मिडिया बास्केटले माछापुच्छ्रे बैंकलाई ३–२, शिलापत्र डटकमले मुक्तिनाथ विकास बैंकलाई २–१, बराह ज्वेलर्सले सफ्ट नेपलाई २–१ गोलले पराजित गरेको थियो ।
प्रि क्वार्टरफाइनलकै अन्य खेलमा मिडिया हबले क्यूएफएक्सलाई ४–३ ले निराश बनाउँदा पिक्सनले न्यूज २४ टिभीलाई २–० ले पाखा लगायो । त्यस्तै वेलकमले जनता टिभीमाथि ७–० को जीत निकाल्दा भोगले सर्वोत्तम सिमेन्ट माथि पनि ७–० गोलकै जीत निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेका थिए । शुक्रबार नै क्वार्टरफाइनलका खेलहरु सम्पन्न भएका छन् । जसमा विजयीहुँदै मिडिया बास्केट, शीलापत्र डटकम, मिडिया हब र भोग एण्ड एण्ड इभेन्ट सेमिफाइनलमा प्रवेश गरे ।
क्वार्टरफाइनलमा कान्तिपुर मिडिया ग्रुपलाई मिडिया बास्केटले पेनाल्टीमा ३–२ गोलले पराजित गरेको थियो । निर्धारित समयमा दुवै टिमबाट एक एक गोल भएपछि खेलको नतिजा पेनाल्टीबाट निकालिएको हो ।
यस्तै, शीलापत्र डटकम र बराह ज्वेलर्सले निर्धारित १५ मिनेटको समयमा एक एक गोलको बराबरी खेले पछि पेनाल्टीबाट नतिजा निकालिएको थियो । जसमा शीलापत्र डटकम ३–१ गोल अन्तरले विजयी भयो ।
मिडिया हबले निर्धारित समय भित्रै ४–३ गोल अन्तरले पिक्सनमाथि जीत निकाल्दै अन्तिम चारको यात्रा तय गर्दा भोग एण्ड इभेन्टले वेलकम मिडियालाई पेनाल्टीमा ३–१ गोलले पाखा लगायो । निर्धारित समयमा दुवै टिमले २–२ गोल गरेका थिए ।
सेमिफाइनलमा शनिबार मिडिया बास्केट र शीलापत्र डटकम भिड्दा मिडिया हब र भोग एड एण्ड इभेन्ट आमने सामने हुने छन् । सेमिफाइनलका बिजेता २ टिमले उपाधि भिडन्त गर्दा पराजित हुने दुई टिमले तेस्रो स्थानका लागि खेल्ने छन् ।
प्रतियोगिताको विजेताले १ लाख उप विजेताले ७५ हजार नगद पुरस्कार पाउँदा तेस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने छ ।