समाचार

कार्यक्रममा सरिक भएका बेला विप्लव समूहका विद्यार्थी नेता पक्राउ

काठमाण्डौ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता चिरञ्जीवी ढकाललाई आज काठमाडौँको अनामनगरबाट पक्राउ गरेको छ ।

उक्त समूहको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष ढकाललाई आज अनामनगरमा भएको एक कार्यक्रममा सरिक भएका बेला पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार ढकाल चन्दा आतङ्कमा सक्रिय हुँदै आएका छन् ।

विभिन्न विद्यार्थी सङ्गठनको कार्यक्रममा सहभागी भई निस्कने क्रममा पक्राउ गरिएको हो । यसअघि सरकारले विप्लव समूहको नेकपाका गतिविधि विध्वंसात्मक रहेको भन्दै उसका गतिविधिमा रोक लगाउने निर्णय गरेको थियो ।

महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौँ जिल्लाबाट अहिलेसम्म विप्लव समूहका ४३ जनालाई नियन्त्रणमा लिएर कानूनी दायरामा ल्याइएको छ । देशभर गरेर कूल ३४३ जना विप्लवका नेता तथा कार्यकर्ता पक्राउ परिसकेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।