कर्णाली प्रदेश

एउटैले छ जिल्लाको काम भ्याउनुपर्ने बाध्यता

सुर्खेत । एक कर्मचारीले गर्ने कामको जिम्मेवारी, काम गर्नुपर्ने समय उसको क्षेत्राधिकार तय गरिएको हुन्छ तर सुन्दा अनौठो लाग्न सक्छ की यहाँका एक कर्मचारीले छ जिल्लाको काम एक्लैले भ्याउनुपर्ने बाध्यता छ ।

कार्यालय समयसम्म मात्र होइन साँझ बिहान अहोरात्र खटेरे थप पाँच जनाले छ जिल्लाको गर्नुपर्ने काम एक्लैले गर्दै आएका व्यक्ति हुन्, सुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापा । जनशक्ति अभावका कारण छ जिल्लाको काम उनले जेनतेन एक्लैले हेर्दै आएका हुन् । काम विशेष कार्यालय बाहिर जानुपर्दा जिम्मेवारी सम्हाल्ने अर्को कुनै कर्मचारी नहुँदा यहाँ निकै समस्या हुने गरेको छ ।

हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सुर्खेत जिल्लाको काम आफू एक्लैले सम्हाल्नुपरेको उनले बताए । निमित्त प्रमुृख थापाले वैशाखसम्म जाजरकोट, दैलेख र सुर्खेतको काम सम्पन्न गर्नुभएको छ भने अन्य जिल्लाको काम सम्पन्न गर्ने तयारीमा छन् । कार्यालय प्रमुख नहुँदा निमित्त कार्यालय प्रमुखका रुपमा समेत काम गर्दै आएका खाद्य निरीक्षक थापाले गत साउनदेखि आफू एक्लैले छ जिल्लाको काम गर्नुपरेको गुनासो गरे ।

मानव स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने निकायमा कर्मचारी नहुँदा नागरिकको खाद्य सुरक्षाको अधिकारमा समस्या आउन नदिन कर्णालीको भौगोलिक अवस्था, ठूलो कार्यक्षेत्र र जोखिमपूर्ण यात्रा गर्नुपर्दा पनि सहकर्मीविना एक्लैले काम गर्नुपरेकोले निकै गाह्रो भएको उनको भनाइ थियो ।

“न सवारी साधन छ नत अन्य कुनै सेवा सुविधा”, रासससँग कुरा गर्दै निमित्त कार्यालय प्रमुख थापाले भने, “बजार अनुगमन तथा निरीक्षणका लागि जान पनि अन्य निकायको सवारी साधन माग्नुपर्छ । विभागमा सवारी साधनको माग गर्दा अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । विविध समस्याले कार्यालयले लिएको लक्ष्य पूरा गर्न कठिन हुने देखिन्छ ।”

उनले थपे, “छ जनाको दरबन्दीमा कार्यालय सहयोगी र म मात्रै छु । स्टोर, लेखा, प्रशासन, अभिलेखलगायत सबै काम आफैले हेर्नुपर्छ । म बाहिरिँदा नागरिकले दिएको निवेदन÷उजुरी बुझ्ने र हेरेर जवाफ दिने मान्छेसमेत छैन । लेखापाल नहुँदा तलब खान त्यत्तिकै समस्या भएको छ ।”

निमित्तप्रमुख थापाका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले चालू आवमा यो क्षेत्रका खुद्रा पसल, उद्योग, होटल तथा मिठाइ पसल निरीक्षण गर्दै आएको छ । अहिले निरीक्षण र गुणस्तर जाँच मात्र नभई कार्यालयले प्रवद्र्धनात्मक कार्य पनि थालेको उनले बताए । वडास्तरीय खाद्य स्वच्छता समूह गठन तथा परिचालन, खाद्य स्वच्छतासम्बन्धी तालीम, उपभोक्ता भेला, खान हुने र नहुने खाद्यवस्तु, तिनको गुणस्तर र खाद्य उपभोगका विषयमा विद्यार्थीलाई पढाउने गरिएको उनको भनाइ थियो ।

यसैगरी खाद्य ऐन, २०२३ र दाना पदार्थ ऐन, २०३३ अन्तर्गत रहेर बन्द तथा खुला १२० प्रकारका खाद्यवस्तुको लेबल तथा तिनको गुणस्तरको नमूना लिएर जाँच गर्दै आइएको निमित्त प्रमुख थापाले बताए ।