समाचार

गैरसंसदीय शब्द अभिलेखबाट हटाउन सभामुखको रुलिङ

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रम पारित गर्ने दिन यही वैशाख २४ गते सदनमा प्रयोग भएका गैर संसदीय शब्द सङ्घीय संसद् सचिवालयको अभिलेखबाट हटाउन निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै सभामुखले सो दिन प्रयोग भएका शब्दका बारेमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै सचिवालयलाई उक्त निर्देशन दिएका हुन् । सोही क्रममा नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले सभामुखको रुलिङप्रति सम्मान व्यक्त गर्दै नीति पारित गर्ने दिन जिज्ञासाका क्रममा अरु पनि गैरसंसदीय शब्द प्रयोग भएका भन्दै सबै शब्द अभिलेखबाट हटाउन माग गरेका थिए ।

सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संसदीय शब्द प्रयोग गर्नुभएको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आरोप लगाएको थियो ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार सम्हाल्ने सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । सो पत्रअनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई तोकेको उनले जानकारी दिए ।