बाग्मती

सडक सुरक्षाका लागि फोटो प्रदर्शनी शुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा हुने सवारी दुर्घटना कम गर्नका लागि सडक सुरक्षासँग सम्बन्धित फोटो प्रदर्शनी आजदेखि शुरु गरेको छ । रत्नपार्कस्थित शान्तिबाटिकामा शुरु भएको उक्त प्रदर्शनी आगामी आइतबारसम्म सञ्चालनमा रहनेछ । प्रदर्शनीमा सडक दुर्घटना, नियमको पालना र नागरिक सचेतना गरी तीन विधाका तस्बीर प्रदर्शनमा राखिएको छ ।

प्रदर्शनीको शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले यस प्रदर्शनी विद्यालय उमेरदेखि केटाकेटीमा लक्षित गरेर आयोजना गरिएको बताए ।

 यसका लागि कामपाले सडक सुरक्षासँग सम्बन्धित तस्बीर सङ्कलन गर्न सार्वजनिक सूचना जारी गरेको थियो करीब एक महीना लामो तस्बीर सङ्कलनको समयमा २०२ वटा तस्बीर प्राप्त भएका थिए । प्राप्त तस्बीरमध्ये निर्णायक मण्डलले छनोट गरेका उत्कृष्ट ५० वटा तस्बीर प्रदर्शनमा छन् । यससँग सम्बन्धित तस्बीर विभिन्न मिडियाका फोटो पत्रकार सर्वसाधारण नागरिकबाट पनि प्राप्त भएको थियो ।

यी मध्ये प्रथम, दोस्रो र तेस्रो हुने तस्बीरले रु ५० हजार नगदसहिदको पुरस्कार पाउने व्यवस्था गरिएको छ ।
कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक जयराज सापकोटाले महानगरको नेतृत्वमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा काम छिटो र सकारात्मक परिणाम आउने आशा व्यक्त गरे ।