अन्तर्राष्ट्रिय

नाइजेरियामा खुला दिसामुक्त अभियान

अबुजा । नाइजेरिया सरकारले सन् २०२५ सम्ममा सरसफाईमा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले खुला दिसामुक्त अभियान सञ्चालन गर्ने कार्यक्रमलाई स्वीकृत गरेको छ । जलस्रोत मन्त्री सुलेमान अदामुले उक्त अभियान सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि जानकारी दिए । उनले राष्ट्रिय अभियान सफल बनाउन अन्तर्राष्ट्रिय दाताबाट पनि सहयोगका लागि आग्रह गरिएको बताए ।

“स्वच्छ नाइजेरिया, शौचालयको प्रयोग बढाऔं” नारा दिइएको यस कार्यक्रममा आमजनतालाई सक्रिय सहभागी गराइने पनि मन्त्री सुलेमानले बताए ।नाइजेरियाका ७७४ वटा स्थानीय निकायमध्ये १० वटामा मात्र खुला ठाउँमा दिसा गर्न प्रतिबन्ध लगाइएको छ । पश्चिम अफ्रिकी मुलुक नाइजेरियाका करिब २१ हजार समुदाय मात्र खुला दिसाबाट मुक्त रहेको पनि मन्त्री अदामुले जानकारी दिए ।

नाइजेरियाली सरसफाईको अवस्था अत्यन्त नाजूक रहेकाले खुला दिसामुक्त राष्ट्रिय अभियानले आवश्यक रहेको बताइएको छ । मन्त्री अदामुले नाइजेरियाका झण्डै चार करोड ७० लाख मानिसले अझै पनि खुला ठाउँमा दिसा गर्ने गरेको बताए ।

खुला ठाउँमा दिसा गर्ने मुलुकहरुको विश्वश्रेणीमा भारत पहिलो र नाइजेरिया दोस्रो स्थानमा रहेका छन् । भारतले पछिल्ला चार वर्षमा व्यापक सरसफाई अभियान सञ्चालन गरी स्वच्छता बढाएको छ । भारतले सरसफाईका क्षेत्रमा गरेको सुधारका कारण अब नाइजेरिया पहिलो स्थानमा आउने सम्भावना बढेको पनि मन्त्री अदामुले जानकारी दिए ।

नाइजेरियामा खानेपानीको सुविधा पनि निकै लाजलाग्दो अवस्थामा छ । पाइपबाट खानेपानीको सुविधा प्राप्त गर्नेहरुको संख्या सन् १९९० मा ३२ प्रतिशत रहेकामा त्यो घटेर सन् २०१५ मा त्यो ७ प्रतिशत पुगेको छ । उन्नत सरसफाईमा पनि सन् १९९० मा ३८ प्रतिशत रहेकामा सन् २०१५ मा २९ प्रतिशत भएको छ ।