प्रदेश 2

लागुऔषधसहित दुई युवक पक्राउ

लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा लागुऔषधसहित सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १८ वर्षीय राकेश मण्डललाई पक्राउ गरेको हो ।

पक्राउ परेका मण्डलको साथबाट नाइट्रोजेपाम ५३ ट्याब्लेट प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । यस्तै अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बसबिसौनी नजिकैबाट लागुऔषधसहित लहान नगरपालिका–१९ निवासी २० वर्षीय अशोककुमार यादवलाई पक्राउ गरेको हो ।

यादवको साथबाट नाइट्रोजेपाम १६ ट्याब्लेट बरामद भएको प्रहरीको भनाइ छ । यस्तै प्रहरीले सिरहाका विभिन्न स्थानबाट करीब रु डेढ लाख मूल्य बराबरको अवैध सामानसहित मोटरसाइकल बरामद गरेको छ । भन्सार छलेर अवैध रुपमा ल्याएको विभिन्न किसिमका कपडासहित बीआर३२जे ०२२७ नंको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बरामद सबै सामान कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जनाएको छ ।