कर्णाली प्रदेश

होस्टेलबाट १९ बालबालिकाको उद्धार

काठमाडौँ । काठमाडौँको गोल्फुटारस्थित न्यू कर्णाली होस्टेलबाट १९ बालबालिकाको उद्धार गरिएको छ । केन्द्रीय बाल कल्याण समिति, नेपाल प्रहरी महाराजगञ्ज र बालबालिका खोजतलास केन्द्रलगायतको संयुक्त पहलमा ती बालबालिकालाई उद्धार गरिएको हो ।

होस्टेल सञ्चालक जय विश्वकर्माले कालिकोट, हुम्ला, डोल्पा र बाँके जिल्लाबाट अभिभावकलाई विभिन्न प्रलोभनमा पारी बालबालिकालाई छात्रवृत्तिमा पढाउन तथा पालनपोषण गर्न भनी ल्याएर अलपत्र पारेको खबर प्राप्त भएपछि बालबालिकाको उद्धार गरिएको हो । कर्णाली होस्टेल नाम राखिएको भए पनि होस्टेल वा बालगृहका रुपमा सञ्चालन गरेको नपाइएकाले बालबालिकाको उद्धार गरिएको केन्द्रीय बालकल्याण समितिका प्रवक्ता रामबहादुर चन्दले बताए ।

कोलीकोटका १३ जना, हुम्लाका चार, डोल्पा र बाँकेका एक÷एक जना गरी १४ बालक र पाँच बालिकाको उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई अल्पकालीन संरक्षण केन्द्रमा राखी पारिवारिक पुनःमिलनका लागि काम भइरहेको प्रवक्ता चन्दले जानकारी दिए ।