समाचार

धुमधामका साथ अध्यक्ष दाहाल र सीताले गरे पुनः बिहे

काठमाण्डौं । नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः विवाह गरेका छन् । तर, उनले अरु कसैसँग होइन, आफ्नै पत्नी सीता दाहालसँग पुनः विवाह गरेका हुन् ।

दाहाल र सीताबीच आजैको दिन २०२६ साल बैशाख २६ गते विहे भएको थियो । दुवै दाम्पत्य जीवनमा प्रवेशको आज ५० औं बर्ष हो । त्यसैले सोही अवसरमा प्रचण्ड र पत्नी सीताबीच पुनः विवाह भएको हो । विवाह समारोह साँच्चैको नयाँ दुलहा दुलहीको विवाहोत्सव झै थियो । विवाह कार्यक्रममा महिलाहरुले पञ्चेबाजा बजाएका थिए भने नाचेका पनि थिए । प्रधानमन्त्री केपी शर्माओली आजै विदेश भ्रमणमा गएकाले उनको उपस्थिति थिएन, तर सरकारका मन्त्रीहरु, उच्च नेताहरु, आफन्तजनहरु सबै निम्ताइएको थियो ।

निजी निवास खुमलटारमा नेताहले अंकमाल गरेर बधाई दिदा प्रचण्डमा खुशी र केही लजाएको भाव देखिन्थ्यो भने पत्नी सीता प्रतिक्रियाविहिन झै थिइन् । पत्नी सीताको साथमा हुदा भने दाहाल भावुक मुद्रामा देखिन्थे । प्रतिक्रियाविहिन एवं भावविहिन पत्नी सीतालाई नियाल्दै र हात समात्दै दाहाल निक्कै भावुक देखिन्थे । एक मात्र छोरा प्रकाशको असामयिक निधन पछि सीता दाहालको स्वस्थ्य झन खराब हुदै गएको थियो । उनलाई दाहालले उपचारमा अमेरिकासमेत लगेका थिए । यो विवाहलाई पत्नी सीतामा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षासहित उपचारको एक पद्दतीकोरुपमा पनि लिइएको छ ।