अन्तर्राष्ट्रिय

अफगानिस्तानमा मानवीय सहायताकर्मीमाथि आक्रमण

काबुल । अफगानिस्तानका सहायताकर्मीमाथि लक्षित गरी आक्रमणहरु हुन थालेपछि मानवीय सहायता समूहहरु चिन्तित भएका छन् । काबुलमा बुधबार तालिबानले नौ जना सहायताकर्मीको हत्या गरेपछि सर्वत्र आलोचना हुन थालेको छ ।

अफगानिस्तानका अवसरविहीन समुदायका लागि कार्यरत गैरनाफामुलक संस्था काउन्टरपार्ट इन्टरनेसनलको कार्यालय बाहिर बुधबार कारबम बिस्फोट गराइएको थियो । यो संस्था मध्य काबुलका निकै व्यस्त व्यापारिक क्षेत्र नजिकै रहेको छ । गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले बम बिस्फोटबाट मृत्यु हुनेको संख्या ९ पुगेको जानकारी दिए। मारिनेमा पाँच जना अफगान सैनिक, काउन्टरपार्टका एक जना गार्ड तथा तीन सर्वसाधारण रहेका छन् ।

बिस्फोटबाट काउन्टरपार्ट नजिकै कार्यालय रहेको अर्को गैरसरकारी संस्था केएरमा कार्यरत एक जना सवारी चालक, एक जना पहरेदार र एक जना प्राविधिक सल्लाहकार मारिएका थिए । केएरले अफगानिस्तानजस्ता द्वन्द्व प्रभावित मुलुकहरुमा मानवीय सहायताका कार्यहरु गर्न निकै खतरापूर्ण बन्दै गएको जनाएको छ ।

उक्त आक्रमणबाट अरु २० जना सर्वसाधारण घाइते भएका छन् । बिस्फोटपछि धेरै जना बन्दुकधारी तालिबानीहरु काउन्टपार्टको कार्यालयभित्र प्रवेश गरेका थिए । अफगान कमान्डोहरुले घेरा हाली प्रतिकारबाही गरेपछि सबै तालिबानीको मृत्यु भएको बताइएको छ ।