समाचार

संशोधित विधानले पार्टीलाई सशक्त बनाउँछः महामन्त्री खड्का

पोखरा । नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको संशोधित विधानले पार्टीलाई थप सशक्त बनाउने बताएका छन् ।

नेपाली काङ्ग्रेसले बुधबारदेखि शुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रममा उनले विधानले समावेशिता, समानुपातिक प्रतिनिधित्व लगायतका विषयलाई थप प्रभावकारी बनाएको स्पष्ट पारे ।

महामन्त्री खड्काले विधानलाई कार्यकर्ताको भावनाअनुरुप आवश्यकताअनुसार परिमार्जन गर्दै लैजान सकिने बताउँदै राज्यको परिवर्तित संरचना, संविधानको भावना एवम् मर्मलाई विधानले आत्मसात् गरेको उल्लेख गरे ।

सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको बताउँदै उनले लोकतन्त्रको रक्षा र विद्यमान विकृति–विसङ्गतिको अन्त्यका लागि पार्टीको आन्तरिक एकता मजबुत बन्नु अपरिहार्य भएको धारणा व्यक्त गरे ।

अभियानअन्तर्गत महामन्त्री खड्काले आजै पोखरा महानगरपालिका–३३ स्थित भरतपोखरीको मालागिरि, बरपौवा, कालिकास्थान, मादी गाउँपालिकाका साथै दूधपोखरी समाज माटेपानी, नेपाली काङ्ग्रेस कास्कीको कार्यालय परिसर लगायतका स्थानमा कार्यकर्ता भेटघाट गरी अन्तरक्रिया गरे ।

जागरण कार्यक्रमअन्तर्गत कास्कीका लागि केन्द्रीय प्रतिनिधि खटिएका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा एक महीनासम्म कार्यक्रम सञ्चालन गरिने जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए ।