प्रदेश 2

सर्पले डस्दा गाई मरे

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा चार दिनमा विषालु सर्पले टोक्दा दुई वटा दुधालु गाई मरेको छ । आज बिहान करीब १० बजे गाउँकै पूर्वपट्टि रहेको खाली खेतको ठूला फाँटमा घाँस चरिरहेको स्थानीयवासी नरेश साहको गाईलाई विषालु सर्प गोमनले टोक्दा एक छिनमै गाईको ज्यान गएको जनाइएको छ ।

प्रत्यक्षदर्शी गाई हेरालु र घाँस काट्दै गरेका दर्जनौँ महिला–पुरुषका अनुसार गाई चरिरहेको ठाउँमा अचानक विषालु गोमन सर्प आएको र गाईको खुट्टामा टोकेको एक छिनमै गाई छट्पटाउँदै वनमै मरेको थियो । एक महीनाअघि मात्रै ६० हजार भारुमा किनेर ल्याएको गाईलाई सर्पले टोक्दा ज्यान गएपछि साह परिवार निक्कै दुःखी भएका छन् ।

त्यस्तै गत सोमबारका दिन पनि सोही खेतको फाँटमा चरिरहेका बेला स्थानीयवासी श्यामबाबु चौधरीको दुधालु गाईलाई पनि विषालु सर्प गोमनले नै टोक्दा गाईको ज्यान गएको थियो । यसरी चार दिनको अवधिमा एउटै गाउँकै दुई वटा दुधालु गाईलाई विषालु सर्प गोमनले टोक्दा ज्यान गएपछि स्थानीय किसानहरु भयभित भएका छन् भने वनमा जान र गाईवस्तु लैजान डराएका छन् ।