पर्यटन/संस्कृति

साकेला उभौली पर्व २२ स्थानमा भव्यताका साथ मनाउने, किराँत राई

भद्रपुर । झापामा यस वर्षको उभौली पर्व २२ स्थानमा भव्यताका साथ मनाउने किराँत राई यायोक्खा जिल्ला कार्यसमितिले जनाएको छ । सांस्कृतिक आन्दोलनबाट जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा उभौली साकेला कार्यक्रम गर्न लागेको समितिका अध्यक्ष इन्द्रमान चाम्लिङले जानकारी दिए।

जेठ ४ गतेबाट शुरु भई जेठ २५ गते कमल गाउँपालिका सितापुरीमा सम्पन्न गर्ने गरी कार्यक्रमको समयतालिका बुधबार एक कार्यक्रमका बीच दमकमा सार्वजनिक गरिएको हो । जेठ ४ गते दमक, विर्तामोड, लखनपुर, बाहुनडाँगी, तोपगाछी र कनकाईमा गरिने र जेठ ९ गते पृथ्वीनगर संयुक्त र गौरीगञ्ज संयुक्त, जेठ १० गते गौरादह बजार, ११ गते धरमपुर, धुलाबारी, पाडाजुँगीमा गर्ने जनाइएको छ ।

यसैगरी १३ गते शान्तिनगर, १४ गते हल्दिबारी–२, १५ गते बुट्टाबारी, १६ गते डाँगीबारी, १८ गते जलथल, धनुषा, शिवसतासी, बुधबारे र भद्रपुर, २३ गते अर्जुनधारा र २५ गते सितापुरीमा कार्यक्रम गर्ने तालिका रहेको छ । उक्त उभौली पर्वमा राई विद्यार्थी सङ्घ, राई पत्रकार सङ्घलाई पनि उपस्थितिका लागि अनुरोध गरिएको छ । झापा जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका राईहरुले पनि उभौली साकेला पर्व कारागारमै मनाउने भएका छन् ।

कारागारको कार्यक्रमका लागि जिल्ला उपाध्यक्ष नीरबहादुर राईको संयोजकत्वमा समिति गठन गरिएकोे छ । उनले जेठ ९ गते कारागारामा उभौली साकेला कार्यक्रम गर्ने तयारी रहेको बताए। वैशाख पूर्णिमाबाट शुरु हुने उभौली साकेलालाई जिल्लाका हरेक स्थानमा भव्य र सभ्यरूपमा सम्पन्न गर्न जिल्ला सचिव केवलराम राईको संयोजकत्वमा सम्पर्क समन्वय उपसमितिसमेत गठन गरिएको छ ।