लुम्बिनी

स्थानीय निकायलाई भू–उपयोग सामग्री हस्तान्तरण

घोराही । प्रदेश नं ५ अन्तर्गत भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालयअन्तर्गतको नापी विभागले जिल्लाका १० वटै स्थानीय निकायलाई भू–उपयोग सामग्री हस्तान्तरण गरेको छ । विभागले बुधबार घोराहीमा एक कायक्रमको आयोजना गरी उक्त सामग्री हस्तान्तरण गरेको हो ।

विभागबाट सरकारले पछिल्लो समय निर्माण गरेको भू–उपयोग नीति, स्थानीय तहका नक्सा, तथ्याङ्क तथा प्रतिवेदन प्रत्येक स्थानीय निकायलाई छुट्टाछुट्टै वितरण भएको थियो । विभागले जिल्लाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख तथा पालिकाका प्रतिनिधिलाई सहभागी गराएर आफ्नो क्षेत्रभित्र के–कसरी भू–उपयोग नीति लागू गर्ने भन्नेबारेमा जानकारीसमेत गराएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं ५ नापी विभाग अधिकृत प्रतिमा बस्नेतले सरकारले तयार पारेको तथ्याङ्कमा प्रत्येक स्थानीय तहको कृषि, पर्यटन, औद्योगिक, सार्वजनिक जग्गा छुट्याइएको, कृषि भूमिको चक्लाबन्दी गर्ने, भूमिलाई वातावरणमैत्री तरिकाले उपयोग गर्ने विधिसमेत भएको बताए।

नापी विभागबाट प्राप्त उक्त तथ्याङ्कमा स्थानीय निकायले आफ्नो क्षेत्रको विकासे काम गर्नका लागि समेत सहज हुने उनको भनाइ थियो । कार्यक्रममा प्रदेश नं ५ का प्रदेससभा सदस्य अमरबहादुर डाँगीले पछिल्लो समय कृषि योग्य जमीन नासिँदै गएकोप्रति चिन्ता व्यक्त गरे। सबै स्थानीय निकायका प्रतिनिधिलाई आफ्नो क्षेत्रभित्रको कृषि जमीनलाई सुरक्षित बनाउन पहल गर्नसमेत अनुरोध गरे।