खेलकुद

मुख्यमन्त्री रनिङ शिल्डमा रुपन्देही प्रथम

रुपन्देही । सामाजिक विकास मन्त्रालय प्रदेश ५ ले आयोजना गरेको मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा रुपन्देही प्रथम भएको छ ।

बुधबार सम्पन्न प्रतियोगितामा ६ स्वर्ण, पाँच रजत र तीन कास्य पदकसहित रुपन्देहीले रु एक लाख, शिल्ड र ट्रफी जित्यो । तीन स्वर्ण र आठ कास्यसहित दाङले द्वितीय हुँदै रु ७० हजार पुरस्कार प्राप्त गर्‍यो । दुई स्वर्ण, एक रजत र तीन कास्यसहित बाँके तृतीय भयो । बाँकेले रु ५० हजार र ट्रफी प्राप्त गर्‍यो ।

प्रतियोगितामा दुई स्वर्ण, एक रजत र दुई कास्यसहित गुल्मी चौथो, नवलपरासी एक स्वर्ण, दुई कास्य र चार रजत, बर्दियाले एक स्वर्ण, दुई रजत र एक कास्य, रुकुम पूर्वले एक स्वर्ण र एक रजत, पाल्पाले तीन रजत र एक कास्य तथा अर्घाखाँचीले एउटा कास्य पदक प्राप्त गर्‍यो।

प्रतियोगितामा रुपन्देहीका प्रताप खवास र दाङकी भावना डाँगी उत्कृष्ट खेलाडी भएको प्रचार प्रसार संयोजक कुमार आलेले जानकारी दिए । विजयी खेलाडीलाई सामाजिक विकासमन्त्री सुदर्शन बरालले पुरस्कार वितरण गरे। प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न पुरुष भलिबलको फाइनलमा नवलरासीलाई ३–० को सोझो सेटमा हराउँदै रुपन्देहीले स्वर्ण जित्यो ।

महिला भलिबलमा रुपन्देहीलाई ३–० को सेटमा पराजित गरी दाङले स्वर्ण हात पार्‍यो । प्रतियोगितामा भलिबल, ब्याडमिन्टन, एथ्लेटिक्स, तेक्वान्दो, बुद्धिचाल लगायत खेलमा १२ जिल्लाका ४२० खेलाडी सहभागी थिए ।