राजनीति

सबै मिलि काङ्ग्रेसलाई बलियो बनाऔँ– नेता जोशी

दमौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जागरण अभियानमार्फत पार्टीलाई बलियो बनाउने सङ्कल्प गर्न आवश्यक रहेकामा जोड दिएका छन् । काङ्ग्रेसको आह्वानमा आजदेखि शुरु भएको राष्ट्रिय जागरण अभियानको तनहुँको दमौलीमा उद्घाटन गर्दै जोशीले पार्टीभित्र भएका असहमति र वैमनस्यतालाई अन्त्य गरी काङ्ग्रेसलाई बलियो बनाउन दृढ सङ्कल्प सबैले गर्न आवश्यक रहेको बताए ।

काङ्ग्रेस–काङ्ग्रेसबीचको द्वन्द्वले पार्टी कमजोर हुँदै गएकाले भोलि देशको नेतृत्व गर्न सक्ने पार्टी बनाउन सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्नेमा उनले जोड दिए । काङ्ग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले काङ्ग्रेसभित्र सुमधुर सम्बन्ध बनाउन र आफैँभित्र जागरण ल्याउन राष्ट्रिय जागरण अभियानले सहयोग पुग्ने बताए।

राष्ट्रिय जागरण अभियानमार्फत जिल्लामा क्षेत्रीय र स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने काङ्ग्रेस तनहुँका सचिव विश्व बाँस्तोलाले जानकारी दिए। उनका अनुसार सो अभियानअन्तर्गत गाउँ–गाउँमा पुगेर सदस्यता वितरण, अभिलेख सङ्कलन, अग्रजलाई सम्मानलगायत कार्यक्रम सञ्चालन गरिनेछ ।