समाचार

जनजागरण अभियान सत्ताका लागि होइन, काङ्ग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्छ: डा रिजाल

काठमाण्डौ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले काङ्ग्रेसले आजदेखि शुरु गरेको देशव्यापी जनजागरण अभियान सत्ता प्राप्तिका लागि नभई जागरणका लागि भएको बताएका छन् ।

जनजागरण अभियानअन्तर्गत आज भक्तपुरको दूधपाटीमा आयोजित कार्यक्रममा उनले काङ्ग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्ने बताए । जनताले सत्तामा पठाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले जनताको चाहनाअनुरुप काम गर्नुपर्ने र जनताको पक्षमा काम गर्न दबाब सिर्जना गर्न अभियान सञ्चालन गरिएको उनको भनाइ थियो । नेता रिजालले काङ्ग्रेस आफैँ भित्रको कलहबाट बाहिर निस्केर बदलिनुपर्ने र सुध्रिनुपर्ने बेला आएको बताए ।

कार्यक्रममा काङ्ग्रेस नेत्री रजनी जोन्छे र काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जनताको चाहनाअनुरुप सरकारलाई काम गर्न दबाब दिनका लागि काङ्ग्रेसले अभियान चाल्नु परेको बताए ।