राजनीति

राष्ट्रिय जागरण अभियानः बरिष्ठ नेता पौडेल, महामन्त्री खड्कासहित नेताहरु यसो भन्छन्

काठमाण्डौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई जनताको चाहनाअनुसार वैकल्पिक शक्तिका रूपमा उभ्याउन हैसियत बनाउनुपर्ने खाँचो औँल्याएका छन् । राष्ट्रिय जागरण अभियानअन्तर्गत आज जनकपुरधाममा आयोजित सभामा नेता पौडेलले सरकारका काम जनअपेक्षाअनुरुप नभएको भन्दै गर्दै पार्टीले सशक्त विरोध गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय सदस्य बलबहादुर केसीले सरकारले संविधान, सङ्घीयतालाई कागजको खोस्टोमा परिणत गर्न खोजेको आरोप लगाए । प्रदेशसभा सदस्य रामसरोज यादवले सरकारले स्वतन्त्रतामाथि अङ्कुश लगाउने क्रियाकलाप गरिरहेको आरोप लगाए ।

पोखरा–नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सुदृढ र एकताबद्ध काङ्ग्रेस राष्ट्रको आवश्यकता भएको बताएका छन् । काङ्ग्रेसले आजदेखि देशैभर सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको आज पोखरामा उद्घाटन गर्दै उनले आपसी मनमुटाव त्याग्दै केन्द्रदेखि वडा तहसम्म पार्टी एकताबद्ध हुनुपर्ने बताए ।

काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीभित्रको आन्तरिक एकता पहिलो आवश्यकता भएको धारणा राखे । काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले अभियानलाई जिल्लाका हरेक तहमा लैजाने बताउँदै यसले पार्टीलाई थप क्रियाशील बनाउने विश्वास व्यक्त गरे । उक्त अवसरमा महामन्त्री खड्काले नेपाल प्रेस युनियन कास्कीले प्रकाशन गरेको २०७६ सालको पात्रो लोकार्पण गरे ।

सुर्खेत–काँग्रेसका केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले गुट–उपगुटमा विभाजित भएर पार्टीलाई कमजोर नबनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । आजदेखि शुरु भएको देशव्यापी जागरण अभियानअन्तर्गत वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले कार्यकर्तालाई एकताबद्ध भएर पार्टीका गतिविधिमा लाग्न आग्रह गरे ।

पार्टी केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूहरुको अभियान विपक्षीलाई गाली गर्ने नभई पार्टी सङ्गठनलाई सक्रिय पार्नु रहेको बताए । जिल्ला पार्टी सभापति कमलराज रेग्मीले हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानअन्तर्गत सुर्खेतका नौवटै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

हेटौँडा–काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरशिंह केसीले काङ्ग्रेसका नेता र कार्यकर्ताकाबीच पार्टी सुदृढीकरणका लागि अहिले विचारमा पुनःजागरणको आवश्यकता खड्केको बताएका छन् । उनले काङ्ग्रेस केन्द्रीय समितिद्वारा आह्वान गरिएको राष्ट्रिय जागरण अभियानको प्रथम चरणको कार्यक्रम काङ्ग्रेस मकवानपुरद्वारा आज आयोजित कार्यक्रमको उद्घाटन गर्दै काङ्ग्रेसका कार्यकर्ताकाबीच गुटगत वैमनष्य दुव्र्यवहारलाई त्यागेर सत्य निष्ठाको यथार्थ धरातलमा उभिएर कार्यकताले पार्टीका नेतृत्वलाई यथार्थ कुरा भन्न सक्नु नै काङ्ग्रेसको पहिचान हो भने ।

काङ्ग्रेसका प्रदेश नं ३ प्रदेशसभामा प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले प्रजातन्त्रको सुदृढीकरण गर्नका लागि काङ्ग्रेसका कार्यकर्ता जनताको घरदैलोमा पुग्न आवश्यक रहेको चर्चा गरे । कार्यक्रममा नारायणी यातायात व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम घिमिरे, सचिव ठाकुर सुवेदी र कोषाध्यक्ष राजेन्द्र खड्गी काङ्ग्रेसमा प्रवेश गरे ।

तुलसीपुर–काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले निर्वाचनमा काङ्ग्रेसले काङ्ग्रेसलाई नै भोट नहालेका कारण पार्टीले हार व्यहोर्नुपरेको बताएका छन् । उनले अब त्यस्तो प्रवृत्तिलाई सच्याएर काङ्ग्रेस तिखारिएर जानुपर्ने बताए । काङ्ग्रेस दाङले घोराहीमा आजदेखि शुरु गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले काङ्ग्रेस एक हुनु पहिलो जागरणको सन्देश भएको बताए ।

पूर्वसञ्चालमन्त्रीसमेत रहेका बस्नेतले वर्तमान सरकारले गर्ने गलत कार्यको खुलेर विरोध गर्न र जनताका साथमा उभिनसमेत नेता कार्यकर्तालाई निर्देशन दिए । विकास विरोधी आफूहरु नभएको तर सरकारले गर्ने गलत कार्यको भने भण्डाफोर गरेर सचेत पार्न आग्रह गरे ।