समाचार

छुट्टाछुट्टै घटनामा एक बालिकासहित दुईको मृत्यु

राजविराज । सप्तरीको छुट्टाछुट्टै घटनामा आज एक बालिकासहित दुईको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा आज सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–५ वनरझुलाका रन्जितकुमार रायको नौ महीने छोरी प्रियाकुमारी राय रहेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो । स्थानीय दिनेशकुमार राय (ठूलो बुबा) को घर आँगनमा खेल्ने क्रममा दुलोभित्र बालिकाले दाहिने हात हाल्दा विषालु सर्प गोमनले उनलाई टोकेको थियो ।

सर्पका टोकाइबाट गम्भीर घाईते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै सप्तरीको रुपनी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

रुपनी बजारबाट–राजविराजतर्फ जाँदै गरेको स६प १८७२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री सोही ठाउँका ४५ वर्षीय महेन्द्र यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाईते भएका यादवको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलसहित त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।