राजनीति

शक्तीसाली राजा फालेको काङ्ग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य हुँदैनः सभापति देउवा

काठमाण्डौ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य नहुने बताएका छन् ।

नेपाली काङ्ग्रेस काठमाडौँ जिल्ला समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको आज शुभारम्भ गर्दै उनले देउवाले शासन र राजा फालेका काङ्ग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य हुन नसक्ने बताएका हुन् ।

सभापति देउवाले प्रधानमन्त्रीले संसद्मा गैरसंसदीय शब्द प्रयोग गर्दा पनि सभामुख निरिह बनेर बसेको आरोप लगाउँदै संसद् विपक्षको हो, सरकार सत्तापक्षको हो, संसद्मा विपक्षले बोल्न पाउनुपर्छ भने । सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ उल्लेख हुनु संविधानको मर्म र भावनाविपरीत भएको बताउँदै उहाँले जागरण अभियानमार्फत् सरकारको गलत गतिविधिबारे आम जनतासमक्ष लैजानुपर्नेमा जोड दिए ।

“गिरिजाबाबु र सुशील कोइराला पार्टी सभापति हुँदा केन्द्रीय सदस्य तलबाट लड्न नपर्ने व्यवस्था गरेका हुन्”, उनले भने । स्थानीय तहबाट केन्द्रीय सदस्य प्रतिनिधि भएर आउने व्यवस्थाबारे पार्टीभित्र छलफल गर्ने सभापति देउवाले बताए ।

काङ्ग्रेस नेता प्रकाशमान सिंहले जागरण अभियानले पार्टीको वडादेखि केन्द्रसम्म थप ऊर्जा मिल्ने बताउँदै जनतालाई अधिकार सम्पन्न बनाउन काङ्ग्रेसले खेलेको भूमिका आम जनतामाझ चिनाउन उक्त अभियानले सहयोगीको भूमिका निर्वाह गर्छ भने ।

जनताको दुःखमा साथ दिने पार्टी काङ्ग्रेस भएको उल्लेख गर्दै उनले जनताको अधिकार सुरक्षित गर्न जागरण अभियान सञ्चालन गरिएको बताए ।

नेता सिंहले काङ्ग्रेसको विचारसँग मेल खाने व्यक्तिलाई समेट्नुसमेत जागरण अभियानको मुख्य उद्देश्य रहेको बताउँदै पार्टीलाई विधिसम्वत ढङ्गले अनुशासित रुपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

जागरण अभियान काठमाडौँका केन्द्रीय प्रतिनिधि एवं काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले जागरण अभियानले पार्टीलाई नयाँ शैलीले अगाडि बढाउन खोजेको बताए । “काङ्ग्रेसलाई सवल, सशक्त र जनतालाई बलियो बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको हो”, उनले भने ।

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणले जनताको प्रश्न संसद्मा राख्न खोज्दा सरकारको प्रधानमन्त्रीले गैरसंसदीय भाषाको प्रयोग गरेको आरोप लगाए ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले जागरण अभियानले पार्टीलाई जगाउने काम गरेको बताउँदै “काँग्रेस नजागेसम्म भ्रष्टाचारमुक्त मुलुक बन्न सक्दैन” भने ।

काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाले पार्टीभित्र रहेको गुठ उपगुठको अन्त्य गरी पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउनु आवश्यक रहेको बताए ।

आजदेखि शुरु भएको पहिलो चरणको जागरण अभियान जेठ २५ गतेसम्म देशभर चल्नेछ । दोस्रो चरणको अभियान भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको अभियान पुस ७ देखि १६ गतेसम्म देशभर चल्ने काङ्ग्रेसले जनाएको छ ।