कर्णाली प्रदेश

आगोले पोलिएका बालकको उपचारमा समस्या

हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लामा जटिल बिरामीलाई उपचारमा उपकरण नहुँदा जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको छ । हुम्लाको सर्केगाड गाउँपालिका–८ राहदेव गाउँ निवासी मल्ल रोकायाका पाँच महीनाको नाबालक छोरा आगोमा परी दुबै खुट्टा पोलिएको छ । उपचारको लागि जिल्ला अस्पताल सिमकोटमा ल्याइएपनि जिल्लामा उपचार सम्भव नभएपछि जिल्ला बाहिर पठाइएको जिल्ला अस्पतालका मानबहादुर रोकायाले जानकारी दिए ।

आगोमा खसेका बालकलाई आफन्तले उपचारका लागि सदरमुकाम सिमकोट ल्याएका हुन् । तर बिरामी बालकलाई उपचारमा जटिल समस्या भएको जिल्लामा उपकरण नभएपछि जिल्ला अस्पतालले बाहिर पठाएको बिरामीका आफन्तलाई उद्धृत गर्दै भारमल बुढाले बताए ।

खाना पकाउन बालिएको आगो नजिकै बालकलाई सुताएको र एक्कासि बालक उठेपछि आगोमा परेर दुबै खुट्टा पोलिएको छ । घाइते बालकलाई आर्थिक अभावकै कारण उपचारमा समस्या भएको आफन्तले बताएका छन् । सिमकोट गाउँपालिका– १ ठेहे निवासी जैपुरी बोहराको सात वर्षका छोरा पनि तातो दाल पोखिँदा शरीरको तल्लो भाग पूरै पोलिएको छ । उपचारको लागि जिल्ला अस्पतालमा ल्याएको नर भण्डारीले जानकारी गराए।