प्रदेश 1

शहीद उद्यान निर्माणका लागि रकम अभाव

अर्घाखाँची । अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल नरपानीमा निर्माणाधीन शहीद स्मृति उद्यानका लागि रकम अभाव भएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनले शहीद कर्मचारी मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विकको स्मृतिमा उद्यान निर्माण गर्न लागेको हो । उद्यान निर्माणका लागि स्थानीय साझेदारी कोषबाट रु ५० लाख, सन्धिखर्क नगरपालिकाबाट १० लाख र प्रदेश नं ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट रु १० लाख विनियोजन भएको छ ।

उद्यान निर्माणका लागि करीब रु ६ करोड ५५ लाख को लागत अनुमान गरिएको उद्यान निर्माणका परिकल्पनाकार तथा कर्मचारी सङ्गठनका जिल्ला इञ्चार्ज कविसिंह कठायतले जानकारी दिए। निर्माणका लागि रकम अभाव हुने भएपछि सङ्गठनका केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटासहितको टोलीले प्रधानमन्त्री कार्यालयमा पुगी अपुग रकम थप गरिदिन आग्रह गरेको छ । टोलीले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमालसँग भेटी रकम अभाव भएको जानकारीसहितको पत्र बुझाएको हो । केन्द्रीय अध्यक्ष देवकोटाले बजेट विनियोजन हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताए । “एउटा जिल्ला शाखाको पहलकदमीमा यति ठूलो परियोजना सम्पन्न हुन लाग्नु सानो विषय होइन”, उनले भने, “आयोजना निर्माण गर्न केन्द्रीय समितिको पूर्ण सहयोग रहन्छ ।”

जिल्ला इञ्चार्ज कठायतले उद्यानले जिल्लाको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पु¥याउने बताए। “कर्मचारीहरुले पनि रचनात्मक काम गर्न सक्छन् भन्ने उदाहरण दिन हामीले यो अभियान थालेका हौंँ”, उनले भने, “यसले राष्ट्रव्यापी रुपमा सकारात्मक सन्देश दिन्छ भन्नेमा पूर्ण आशावादी छौंँ ।” नेपालकै चर्चित धार्मिक गन्तव्यका रुपमा रहेको सुपादेउराली मन्दिरको नजीकै रहेको मनोरम प्राकृतिकस्थल नरपानीमा उद्यान निर्माण हुन लागेको हो । यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।

सुपादेउरालीको दर्शन गरी नरपानीको सौन्दर्यमा रमाउनेको भीड नै लाग्छ । उच्च स्थानमा रहेको नरपानीबाट विभिन्न हिमाल देख्न पाइन्छ । यहाँ दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । पछिल्लो समयमा देशका उच्चपदस्थ व्यक्ति पनि यसको दर्शन गर्न जान थालेका छन् । सुपादेउराली र नरपानी लेकको महिमा दिनप्रति दिन थालेपछि स्थानीयवासी निकै हौसिएका छन् । पर्यटन व्यवसायबाट स्थानीयवासीले लाभ लिइरहेका छन् । सो क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने खालको स्तरीय उद्यानको आवश्यकता रहे पनि अहिलेसम्म उद्यान निर्माणका लागि कसैको पनि ध्यान पुग्न सकेको थिएन । सङ्गठनका जिल्ला अध्यक्ष गोविन्द केसीले उद्यान निर्माण सम्पन्न भएपछि सो क्षेत्रको महत्व झनै बढ्ने बताए ।