उर्जा

सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन

काठमाडौँ । पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । गत शनिबारदेखि परीक्षण गरिएको सो प्रसारण लाइन मङ्गलबार साँझदेखि व्यावसायिक रुपमा नै सञ्चालनमा आएको छ ।

कूल १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड सञ्चालनमा आएपछि सो करिडोरमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन सहज भएका छन् । इलामको गोदकदेखि पाँचथरेको फिदिम खण्डको प्रसारण लाइन मङ्गलबार साँझ ५२० बजेबाट सञ्चालनमा आएको आयोजना प्रमुख दीपेन्द्रराज द्धिवेदीले जानकारी दिए । “शनिबारदेखि हामीले परीक्षण प्रसारण शुरु गरेका थियौं, गोदक–फिदिम खण्ड मङ्गलबार साँझ ५.२० मा र दमक– लखनपुर,झापा– फिदिम खण्ड साँझ ६.१० बजे चार्ज गर्न सफल भएका छौं”, उनले भने ।

इलामको सोयाकबाट एउटा लाइन गोदक र अर्को लाइन लखनपुरतर्फ लगिएको छ । सोयाकबाट दुवै लाइन पाँचथरको फिदिमस्थिति थापाटार सवस्टेसनमा जोडिएको । कूल ४२.८८ किलोमिटर लम्बाइ भएको प्रसारण लाइनको दोस्रो खण्डमा १२६ टावर रहेका छन् । फिदिम–अमरपुर (पाँचथर) तेस्रो खण्डको निर्माण अगामी असारभित्रमा सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइने उनको भनाइ छ ।

पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि काबेली करिडोर निर्माण गरिएको हो । सो प्रसारण लाइन सञ्चालनमा आएपछि निजी क्षेत्रका ऊर्जा उद्यमीलाई त्यसले सबैभन्दा बढी फाइदा पुग्नेछ ।

झापाको लखनपुरबाट शुरु भएको कूल ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो । आयोजनाले निर्माण गर्नुपर्ने कूल २६१ वटा टावरमध्ये तेस्रो खण्डको एउटा टावर मात्रै काम बाँकी छ । सो टावरको कामसमेत एकाध दिनभित्रै सम्पन्न हुने आयोजनाले जानकारी दिएको छ ।

लखनपुर–गोदक पहिलो खण्डको ३५ किलोमिटर प्रसारणलाइन २०७२ को असोजदेखि सञ्चालनमा आइसकेको छ । सोही खण्डमा सानीमा माई जस्ता आयोजनाबाट उत्पादित विद्युत् जोडिएको छ । आयोजनाले यसअघि नै दमक, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२÷३३÷११ केभी सवस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । प्रसारण लाइनको बाटोमापर्ने जग्गाको सतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने, मार्ग परिवर्तन गर्नुलगायतका माग राखी इलामको मङ्गलबारे, चमैता, सिद्धिथुम्का पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयवासीले प्रसारणलाइन निर्माणमा अवरोध गरेका थिए ।

समस्या समाधानका लागि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ गतवर्ष आफैं आयोजनास्थलमा गई स्थानीयसँग छलफल गरेका थिए। कार्यकारी निर्देशक घिसिङले स्थानीयवासीसँग छलफल गरेपछि समस्या समाधान गर्न तयार भए । अवरोध समेत हट्यो ।

काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिने छन् । हेवाखोला ‘ए’ अहिले सञ्चालनमा छ भने तल्लो हेवाखोला निर्माणको अन्तिम चरणमा छ । हेवाखोला ‘ए’को विद्युत् अहिले अस्थायी रुपमा ३३ केभी प्रसारण लाइनमा जोडिएको छ ।

दुवै आयोजनाबाट उत्पादित विद्युत् थापाटार सवस्टेसनमा जोडिने छन् । काबेली करिडोर प्रसारणलाइन निर्माण करीब १० वर्षअघि शुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको थियो ।

कूल तीन करोड १० लाख अमेरिकी डलर लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ९इपान०ले प्रसारणलाइन सम्पन्न हुनु आफूहरुका लागि पनि खुशीको विषय भएको बताएको छ ।

इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले काबेली करिडोर जस्तै अन्य करिडोरको प्रसारणलाइन समेत समयमै सम्पन्न गर्ने गरी कार्ययोजना बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण लाग्नुपर्ने बताए ।