लुम्बिनी

बालश्रम-विवाह न्यूनीकरण गर्न नगरपालिकाले थालेको अभियान प्रभावकारी बन्दै

लमही । बालविवाह न्यूनीकरण तथा बालश्रम अन्त्य गर्न दाङको तुलसीपुर उपमहानगरपालिकाले थालेको अभियान प्रभावकारी बन्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री नगर निर्माणका लागि अभियानको थालनीपछि बालविवाह तथा बालश्रममा न्यूनीकरण आएको पाइएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, महिला तथा बालबालिका शाखा संयोजक नवराज लामिछाने, महिला शाखा प्रमुख माया श्रेष्ठलगायतको टोलीले अनुगमन गर्दा यस्तो भेटिएको हो । तुलसीपुरको सबैभन्दा बढी बालश्रमिक र बालविवाह गर्ने गरेको तुलसीपुरको वडा नं ४, ७ , १०, ११ तथा साविक उरहरी, टरिगाउँ र हलवार गाविस हुने गरेको भए पनि पछिल्लो समय त्यहाँका नागरिक सचेत बनेको उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले बताईन्।

“साविकको टरिगाउँ, उरहरी र हलवार बालविवाह र बालश्रम बढी हुने गरेका गाविस थिए, यिनैलाई लक्षित गरी विभिन्न सङ्घसंस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्‍यौँ”, उनले भने, “यी कार्यक्रम सञ्चालनपछि अहिले बालश्रम र बालविवाह गराउनु हुन्न भन्नेमा अभिभावकहरु सहमत देखिएका छन् ।”

तुलसीपुर उपमहानगरपालिका र सिबिसको आर्थिक सहयोगमा नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसी)ले बालविवाह न्यूनीकरण र बालश्रम अन्त्यका लागि कार्यक्रम सञ्चालन गरिरहेको तुलसीपुर उपमहानगर महिला तथा बाल संरक्षण केन्द्रका संयोजक नवराज लामिछानेले बताए।

बालविवाहले पार्ने असरका बारेमा सबै नागरिक सचेत भइसकेको तुलसीपुर उपमहानगर महिला शाखा प्रमुख माया श्रेष्ठले बताईन्। उनले भनिन्, “बालविवाह गर्दा गर्भवती किशोरीको मृत्यु नै हुनसक्छ भन्ने चेतना भएपछि यस्तो कार्य रोकिएको छ ।”

अहिले बालविवाह तथा बालश्रम अन्त्यका लागि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको पत्र, पर्चा पम्पलेट वितरण गर्नुका साथै सडक नाटक प्रस्तुत गर्ने गरिएको न्युसिपिसीका कार्यक्रम संयोजक सन्तोष चनाराले जानकारी दिए।