बाग्मती

५२ कुटीमध्ये १६ कुटी पुनःनिर्माण गरी हस्तान्तरण

भरतपुर । विनाशकारी भूकम्पले भत्किएका देवघाटका १६ कुटीको पुनःनिर्माण गरिएको छ । ५२ कुटीमध्ये १६ कुटी पुनःनिर्माण गरी हस्तान्तरण गरिएको हो । भवनको मङ्गलबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी आत्मानन्द गिरीलाई हस्तान्तरण गरेका छन् । निर्धारित समयभन्दा केही दिन अगाडि नै कुटी निर्माण सम्पन्न गरिएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनमार्फत २०७५ पुस १३ गते सम्झौता भएर कुटी निर्माण शुरु गरिएको थियो । करीब रु एक करोड १० लाखको कुटी निर्माण गरिएको हो । भवन निर्माणका लागि एकाइले प्रतिभवन रु पाँच लाख ५० हजार अनुदान दिएको उनले बताए । न्यौपानेका अनुसार गलेश्वर आश्रमले उपभोक्ता समिति बनाएर सो भवनको निर्माण सम्पन्न गरिएको हो । सम्झौताअनुसार १६ भवन वैशाख ३० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो ।

कार्यक्रममा गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी आत्मानन्द गिरीले देवघाट क्षेत्रमा २५४ कुटी रहेकाले सबैलाई एउटै प्रकारको बनाएर देवघाटको विशेषता झल्काउनुपर्नेमा जोड दिए। धार्मिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्यको रुपमा देवघाट रहेकाले यहाँ आउने हरेक नागरिकले देवघाटका बारेमा खुलेर प्रसंशा गर्नसक्ने गरी उनीहरुको मन लोभ्याउने खालका काम गर्नुपर्ने गिरीले बताए। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ८८ लाख र गलेश्वर आश्रमबाट रु २२ लाखको लागतमा कुटी निर्माण गरिएका हुन् ।