लुम्बिनी

विस्थापन हुदैँ बाँस निगालाको डोको

रोल्पा । तालावाङ रोल्पाकी ५० वर्षीया लालमती बुढा विगत १० वर्षदेखि सदरमुकाम लिवाङमा ज्यालामजदुरी गर्छिन् । रोजगारीमा भारत गएका श्रीमान्को उतै मृत्यु भएपछि लालमती दुई छोरा एक छोरी लिएर सदरमुकाम लिवाङ आएकी हुन् । लिवाङ आएयता ज्याला मजदुरीबाट जीविका चलाउँदै आएकी छिन् ।

भैँसीको छालाबाट बनेको डोको बोकेर काम गर्न जान्छिन् र बेलुका त्यही डोको लिएर फर्किन्छन् । बाँस निगालाबाट बनेको डोको पाँच/छ दिन पनि नटिक्ने भएपछि उनले भैँसीको छालाबाट बनेको डोको प्रयोग गर्न थालेकी हुन् । श्रीमान्ले अर्की टिपेर हिँडेपछि रोल्पा नगरपालिका–४ की कल्पना विक एक छोरीलाई पालनपोषण गरेर बसिन् । छोरी पनि विवाह गरेर हिँडेपछि अहिले एक्लै दिन काट्न बाध्य उनी ज्यालामजदुरी गरी पेट पाल्न बाध्य छिन् ।

दक्ष कामका लागि हातमा सीप नभएपछि उनी पनि भारी बोक्ने काम गर्छिन् । भारी बोक्न केही समयअघि किनेको छालाको डोको प्रयोग गर्छिन् । पाँच वर्षअघि किनेको छालाको डोको प्रयोग गरेर दैनिक ज्यालामजदुरी गरिरहेको रोल्पा गुम्चाल घर भई हाल सदरमुकाम लिवाङमा ज्याला मजदुरी गरिरहेकी रुकसरी विष्टले बताए। लामो समय टिकाउ हुने र प्रयोग गर्न पनि सहज हुने भएकाले यस्तो डोको प्रयोग गर्दै आएको विष्टको भनाइ छ ।

पारिवारिक विखण्डनपछि ज्याला मजदुरी गरेर दैनिकी चलाउँदै गरेका रोल्पाली महिलाका प्रतिनिधि पात्र हुन् लालमती, कल्पना र रुकसरी । विभिन्न कारणले परिवारमा विखण्डन भएपछि श्रीमान्सँग छुट्टै बस्दै आएका यस्ता धेरै महिला रोल्पा सदरमुकाम लिवाङमा ज्याला मजदुरी गर्छन् । दैनिक छाक टार्ने माध्यम बन्ने गरेको ज्याला मजदुरीका लागि उनीहरु भैँसीको छालाबाट बनेको डोको प्रयोग गर्ने गर्छन् । बाँस निगालाबाट बनेका डोको छोटो समयमै नष्ट हुन्छ, लामो समय टिकाउन मजदुरले छालाबाट बनेका डोका खरीद गर्ने गर्दछन् ।

भैँसीको छालाबाट निर्मित यस्ता डोकाको मूल्य रु एक हजारसम्म पर्ने गरेको विगत पाँच वर्षदेखि यस्तो पेशा अँगाल्दै आएका श्यामबहादुर पुनले बताए । डोकाको साइजअनुसार कम्तीमा रु ७०० देखि एक हजारसम्ममा बिक्री हुन्छ पुनले भने। आठ÷दश वर्ष टिकाउ हुने भएकाले मजदुर यस्तो डोका प्रयोग गर्छन्, पुनले भने। ढुङ्गा, इँटाजस्ता वजनदार वस्तु बोक्न यस्तो डोको प्रयोग गरिन्छ । एउटा भैँसीबाट चार वटाकककककसम्म डोका बन्ने गरेको पुनले बताए।

वर्षमा १५० बढी यस्ता डोका बिक्री गर्ने गरेको रोल्पा कोर्चवाङ घर भई सदरमुकाममा यस्तो पेशा गर्दै आएका टङ्क बुढाले जानकारी दिए । आफूले प्रतिडोका रु एक हजार २०० का दरले बिक्री गर्ने गरेको बुढाले बताए । काठमाडौँ, चितवनजस्ता ठूला शहरबाट माग बढी आउने गरको र इँटाभट्टाबाट यसको माग बढिरहेको बुढाले बताए। जिल्लाभित्र पनि घर निर्माण, सडक निर्माणका काममा छालाबाट निर्मित डोका खपत हुने बताइन्छ । उमेर खाएको भैँसीको छालाको आठ(दश वर्ष टिकाउ हुने गर्दछ । पानी र मुसाबाट यसलाई बचाउनुपर्ने प्रयोेगकर्ताको भनाइ छ ।

रोल्पामा भैँसीको छालाबाट निर्मित यस्ता डोका प्रयोगले बाँस निगालाबाट बनेका डोका लोप हुन थालेका छन् । बाँस निगालाबाट बनेका डोका बजारमा बिक्री हुन छाडेसँगै यस्तो पेशासमेत सङ्कटमा पर्दै जान थालेको छ । पेशा सङ्कटमा परेपछि बाँस निगालाबाट डोका बनाउनेसमेत वैकल्पिक पेशा खोज्न बाध्य भएका छन् । निगाला र बाँसखेतीका लागि रोल्पाको हावापानी अब्बल मानिन्छ । ग्रामीण भेगबाट घण्टौँको दूरी पार गर्दै पैदलयात्रामार्फत ल्याइएका यस्ता डोकाको मूल्य रु २०० सम्म पर्ने गर्दछ ।